Online Bichar
मंगलबार, कार्तिक १८, २०८३ | Tuesday, November 3, 2026

काठमाडौँ, १६ कार्तिक २०८३ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने, नवीकरण गर्ने तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्ने प्रयोजनका लागि आगामी २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ।

स्वास्थ्य बीमा बोर्ड, बबरमहलले बोर्डको मिति असोज १२ को निर्णयअनुसार उक्त व्यवस्था लागू गर्न लागेको हो। नेपाल सरकार, गृह मन्त्रालयले २०८१ असार १० गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी २०८२ साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरेको थियो।

बोर्डले उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने जनाएको छ।

तर, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा अति अशक्त अपाङ्गता भएका नागरिकका हकमा भने राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने व्यवस्था गरिएको छ।

बोर्डले सम्पूर्ण बीमित परिवारलाई स्वास्थ्य बीमा बोर्डको एचआईबी ई–पोर्टल ९भउयचतब।िजष्द।नयख।लउ० मार्फत नयाँ आबद्धता, नवीकरण तथा पुरानो विवरण अद्यावधिक (केवाईसी) गर्न आग्रह गरेको छ।

यसअघि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुँदा राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध नगराएका बीमितले समेत स्वास्थ्य संस्थाबाट राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराई सेवा लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ। त्यसैले पुस १ गतेदेखि स्वास्थ्य बीमा सेवा लिन जाँदा सम्बन्धित बीमितले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

उक्त व्यवस्थाबारे सबै स्थानीय तहका स्वास्थ्य बीमा संयोजन समितिलाई जानकारी गराई बीमित परिवारको विवरण अद्यावधिक गर्न तथा स्वास्थ्य सेवा लिन जाँदा राष्ट्रिय परिचयपत्र नम्बर साथमा लैजान सर्वसाधारणलाई सूचित गर्न बोर्डले स्थानीय तहसँग आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेको छ।

 

तपाईको प्रतिक्रिया