काठमाडौं, १६ कार्तिक २०८३ । चितवन राइनोजलाई पाँच विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ ।
सोमबार त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले चितवनले प्रस्तुत गरेको १३० रनको लक्ष्य १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
सुदूपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले सर्वाधिक ४३ रन बनाए । ब्रान्डनले २१ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । इशान पाण्डेले २५ रन बनाए । अविजित रहेका शेरफन रदरफोर्डले २१, आरिफ शेखले २० र विनोद भण्डारीले ११ बनाएका थिए ।
चितवनको निम्ति रञ्जित कुमारले तीन विकेट लिए । त्यसैगरी रिजन ढकाल र मौसम ढकालले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको चितवनले सुदूरपश्चिमविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल खडा गरेको थियो ।
चितवनको लागि कप्तान रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । रविले पावर प्लेमै दुई ब्याटर गुमाएर कमजोर सुरुआत गरेको चितवनको मध्यक्रम सम्हाल्न प्रयास गरेका थिए । पावर प्लेमा ओपनर देव खनालले सात र अर्जुन साउद १५ रन बनाएर पभेलियन फर्किएका थिए ।
४० बलमा तीन चौका र दुई छक्का प्रहार गरेका उनी अर्धशतक प्रहार गर्न एक रनले चुके । बोपारालाई सुदूरपश्चिमका स्कट कुगेलेइनले ४९ रनमा दीपेन्द्रबाट क्याच गराएका हुन् । कुगेलेइनविरुद्ध छक्काको प्रयास गर्दा उनी क्याच हुन पुगेका थिए ।
पहिलो खेलमा अर्धशतक प्रहार गर्दै टोलीको निम्ति जितको आधार तयार गरेका ओपनर डेविड मलानले उक्त प्रर्दशन दोहोर्याउन सकेनन् । मलानले बाउण्ड्री प्रहार गर्न मैदानमा संघर्ष गर्नुपर्यो । उनले १७ बलमा एक चौका प्रहार गर्दै १६ रन मात्र जोड्न सके । खेलमा रबिसँग ३५ रनको साझेदारी गर्दै इनिङ थाम्न प्रयास गरे पनि उनी सुदूरपश्चिमका कप्तान दीपेन्द्रको बलमा क्चाय हुनपुगे ।
विवेक यादवले १५ रन बनाए भने शिकन्दर राजाले १५ रन बनाए ।
सुदूरपश्चिमका निम्ति स्कटले दुई विकेट लिए । त्यसैगरी, हेमन्त धामी, दीपेन्द्र र अनिल खरेलले समान एक विकेट लिए ।






