Online Bichar
शुक्रबार, कार्तिक १४, २०८३ | Friday, October 30, 2026

काठमाडौं, १३ कार्तिक २०८३ । परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियाली राष्ट्रमा नेपाली ठगिने क्रम अझै नरोकिएको बताएको छ । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लोकबहादुर पौडल क्षेत्रीले उक्त जानकारी दिएका हुन् ।

“हालसम्म त्यहाँका स्क्याम सेन्टरबाट ८६० नेपालीको उद्धार गरिएको विषय हामीले यसपूर्वका ब्रिफिङहरूमा जानकारी गराइसकेका छौँ,” प्रवक्ता क्षेत्रीले भने, “नेपालीहरू ठगिने क्रम अझै पूर्ण रूपमा नरोकिएको जानकारी प्राप्त भएको छ ।”

ठगिएका नेपालीहरू र आफन्तहरूले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली राजदूतावासहरूमा सम्पर्कमा आउने क्रम पनि जारी नै रहेको उनले जनाए ।

“दक्षिणपूर्वका कम्बोडिया, म्यान्मार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीहरूको उद्धार तथा यस विषयमा सचेतनाका लागि हामीले निरन्तर समन्वय र पहल जारी राखेका छौँ,” प्रवक्ता क्षेत्रीले भने ।

सम्पर्कमा आएका तथा अलपत्र परेका सबै नेपाली नागरिकहरूको सुरक्षित उद्धार गरी स्वदेश फिर्ता ल्याउन आवश्यक समन्वय र कूटनीतिक पहल भइरहेको उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया