काठमाडौं, १३ कार्तिक २०८३ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीले महाधिवेशनका लागि काठमाडौंका तीन स्थान तय गरिएको जानकारी दिए ।
उनका अनुसार, महाधिवेशन खुलामञ्चमा हुनेछ भने भृकुटीमण्डपको बगैँचा क्षेत्रमा खानाको व्यवस्था गरिनेछ ।
त्यस्तै, मतदानका लागि राष्ट्रियसभा गृहलाई प्रयोग गरिने भएको छ । “खुलामञ्चमा हामीले महाधिवेशन गर्ने भयौँ । भृकुटीमण्डपको बगैँचा भएको स्थानमा खानाको व्यवस्था मिलाइनेछ । राष्ट्रियसभा गृहमा मतदानस्थल राखिन्छ,” कार्कीले भने ।
आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि तय गरिएको महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने इतर पक्षको दाबी छ ।
महाधिवेशनस्थलको टुंगो लगाएको इतर पक्षले भावी नेतृत्वबारे भने अझै टुंग्याउन सकेको छैन । सभापतिका आकांक्षीहरूबीच सहमति जुट्न नसक्दा कसलाई उमेदवार बनाउने भन्ने विषय अनिर्णीत छ ।






