झापा, १५ असोज २०८३ । झापाको दमकबाट ५०० दरका नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार बेलुका ५ बजे दमक नगरपालिका–६ स्थित देवकोटा चोकमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागेर भारतीय नम्बर BR37J2708 नं. को मोटरसाइकललाई रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा भारतको किसनगञ्ज जिल्ला, खनियाबाद वडा नं. ३, फतेपुर बस्ने २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट भारतीय ५०० रुपैयाँ दरका ७० थान नोट, अर्थात् भारु ३५ हजार बरामद गरेको छ । बरामद नोटमध्ये अधिकांशमा नम्बर दोहोरिएको पाइएपछि नक्कली भएको आशंकामा थप परीक्षणका लागि नेपाल राष्ट्र बैंक, विराटनगर पठाइएकोमा सबै नोट नक्कली रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
नक्कली नोटसहित पक्राउ परेका दुवै जनाविरुद्ध मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






