Online Bichar
बुधबार, आश्विन २१, २०८३ | Wednesday, October 7, 2026

काठमाडौं, १४ असोज २०८३ । यतिबेला नेपाल–चीन जोड्ने सबै नाका ठप्प छ । बाढीपहिरोका कारण बाटो अवरोध हुँदा चीनसँगका सबै नाका बन्द भएको पहिलो पटक हो । सडकमा अवरोध हुँदा दसैँ–तिहार र जाडो यामका सामान बोकेका कन्टेनरहरू बाटैमा थन्किएका छन् ।

नाका अवरुद्ध हुँदा यस वर्षको चाडबाडमा व्यापारी र उपभोक्ता दुवै मारमा परेका छन् । गत भदौ १० गते भोटेकोसी बाढीले सामान बोकेका मालवाहक कन्टेनर बगायो । भन्सार प्रक्रिया पूरा भई छुट्न तयार भएका गाडीहरूसमेत बाढीले बगाएपछि कपडा व्यवसायीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन् । सामान आयात नुहुँदा खुद्रा व्यापारीलाई भनेजस्तो नयाँ सामान उपलब्ध गर्न गराउन सकेका छैनन् । नयाँ सामान नआउँदा व्यापार चौपट बनेको होलसेल कपडा व्यवसायी राजु कार्की गुनासो गर्छन् ।
“तातोपानी नाका सुचारु नहुनु र रसुवागढी नाका बाढी–पहिरोले ध्वस्त भएपछि व्यवसायीहरू मुस्ताङको कोरोला नाका प्रयोग गर्न बाध्य भएका थिए। पहिले तातोपानी वा रसुवा नाकाबाट चार–पाँच घण्टामै आइपुग्ने सामान अहिले कोरोलाको घुमाउरो बाटो, खराब सडक र हिउँका कारण काठमाडौं आइपुग्न तीन–चार दिनसम्म लाग्छ । कार्कीले भने ।

तिहारदेखी जाडोयामका सामान बाटोमै थन्कियो

तिहारका लागि लक्षित सामानहरू र जाडो यामका लत्ताकपडाहरू अगाडि नै बजारमा पठाउनुपर्ने भए पनि नाकाको अवरोधले समयमै पुग्न सकेका छैनन् । कपडाका अतिरिक्त स्याउ, सुन्तला जस्ता छिटो बिग्रिने फलफूल र खाद्यवस्तुहरू पनि बाटोमै अड्किँदा बढी क्षति भइरहेको व्यवसायीको गुनासो छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राका अनुसार मुख्य नाकाहरू बन्द हुनुका साथै वैकल्पिक मार्गहरूमा पनि समस्या आउँदा विशेष गरी चीनबाट आउने चाडपर्व लक्षित लत्ताकपडा तथा जुत्ता–चप्पलको आपूर्ति अस्तव्यस्त बनेको छ । चाडपर्वको मुखैमा नाकाहरूमा समस्या आउँदा आपूर्ति व्यवस्था प्रणाली नै भद्रगोल बनेको उपाध्यक्ष मल्होत्राले बताए ।

चीनबाट सामान ल्याउन भारत हुँदै समुद्र मार्ग (सिपिङ) वा हवाई मार्ग (बाइ प्लेन) प्रयोगको विकल्प भए पनि दसैँ केन्द्रित बजारका लागि उक्त विकल्प प्रयोगमा समय नरहेको मल्होत्रा बताउँछन् । “समुद्र वा हवाई मार्गबाट सामान ल्याउँदा थप लागत लाग्ने र धेरै समय लाग्ने भएकाले दसैँका लागि सिधा ट्रकबाट सामान आउनु नै एकमात्र विकल्प हो,“ उनले भने ।

चिनियाँ मुद्राको विनिमय दरदेखी भाडा वृद्धिले यसपटक २५ देखि ३० प्रतिशत महँगीको मार

ढुवानी खर्चमा भएको वृद्धिका साथै चिनियाँ मुद्रा (आरएमबी) को विनिमय दर बढेर प्रति आरएमबी २४ रुपैयाँसम्म पुगेको छ । सडकको सास्ती, गाडी भाडा र चिनियाँ मुद्रा महँगिएका कारण यो वर्ष कपडा तथा अन्य सामानको मूल्यमा २५ देखि ३० प्रतिशतसम्म वृद्धि हुने व्यवसायी कार्कीको अनुमान छ ।

नाकाको विकराल समस्या र ढुवानी झन्झटको अन्तिम आर्थिक भार भने सर्वसाधारण उपभोक्तामाथि नै पर्ने देखिएको छ ।नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले व्यवसायीको व्यापार मात्रै नभई नाका केही दिन मात्र बन्द हुँदा पनि सरकारको राजस्व संकलन र व्यापार चक्रमा धक्का पुगेको बताउँछन् ।

अध्यक्ष तुलाधरका अनुसार सीमा क्षेत्र तथा भन्सार परिसरमा सामान राख्ने ठाउँको अभाव भई कन्टेनरहरू उतै अड्किएका छन् । “यसले गर्दा बैंकको ब्याज र ट्रान्सपोर्टेसन लागतको भार बढेर व्यवसायीहरूले अर्बौँ रुपैयाँको नोक्सानी व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । परिणामस्वरूप आगामी दसैँ तथा तिहार पर्वलाई लक्षित गरी ल्याइएका लत्ताकपडा, इलेकट्रोनिक र अन्य उपभोग्य सामानहरू एउटै खुलेको कोरोला नाका क्षेत्रमा पनि थन्कियो,” अध्यक्ष तुलाधरले भने । समयमै सडक सुचारु नभए बजारमा सामानको अभाव भई चाडपर्वको समयमा महँगी अझै बढ्न सक्ने तुलाधरको अनुमान छ । उनले नेपाल सरकारलाई यथाशीघ्र पहल गरेर बाटो खोल्न आग्रह गरेका छन् ।

कोरोला नाका ६ दिन भित्र खुलाउने प्रयास
पछिल्लो समय प्राय हरेक वर्ष चाडपर्वको आसपासमा प्राकृतिक विपद्का कारण आयात प्रभावित हुने गरेको छ । यसपटक त झन् अप्रत्यासित हिमबाढीले नेपाल चीन जोड्ने उत्तरतर्फको रसुवा भन्सार नाका ध्वस्त बनायो ।

विगत साउनदेखि (करिब दुई महिना) निरन्तर बन्द रहेको नेपाल–चीन सीमास्थित प्रमुख व्यापारिक तातोपानी–कोदारी नाका पुनः सञ्चालनमा ल्याउन नेपाल सरकारले कूटनीतिक तथा अन्तर–मन्त्रालय सहजीकरण तीव्र बनाएको छ । रसुवापछि चीनबाट छोटो दुरीमा धेरै आयात गर्नसकिने पूर्ण रूपमा बन्द अवस्थामा रहेको तातोपानी –कोरला नाका करिब दुई महिनादेखी बन्द छ । नेपाल तर्फको भूभागमा प्राय बाढीपहिरोले भौगोलिक जोखिम हुँदा अवरोध भइरहेको तातोपानी–कोरला नाकामा चिनियाँ पक्षले पनि भौगोलिक जोखिमलाई दृष्टिगत गरी कूटनीतिक नोट पठाएर नाका अस्थायी रूपमा बन्द गरियो ।

यी सबैको अन्तिम विकल्पमा नेपाल – चीनबीचको व्यापारिक ओसारपसारका लागि वैकल्पिक रूपमा कोरलास्थित मुस्ताङ भन्सार कार्यालय रोजियो। काठमाडौंबाट करिब ११९ किलोमिटर दूरीमा रहेको तातोपानी नाका बन्द भएपछि व्यवसायीहरूले चार गुणा ढुवानी भाडा तिरेरै भए पनि वैकल्पिक रूपमा करिब ४३० किलोमिटर टाढाको कोरला नाका प्रयोग गरी घुमाउरो बाटोबाट सामान आयात गरिरहेका थिए । तर अपसोच उक्त नाका पनि असोज ११ गतेदेखि ठप्प छ ।

भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार कोरोला नाका ठिक अवस्थामा रहेको बताउँछन् । “नाकासम्म पुग्ने बाटोका विभिन्न ठाउँमा पहिरो र क्षति पुगेकाले सवारी साधन सञ्चालनमा बाधा पुगेको हो । सडक विभागका अनुसार अवरुद्ध बाटो मर्मत तथा पहिरो पन्छ्याउने काम तीव्र रूपमा भइरहेको छ । आगामी दिनमा वर्षा रोकिएर काममा कुनै अवरोध नभएमा ६ दिनभित्र सडक सुचारु गर्ने जानकारी सडक विभागबाट प्राप्त भएको छ,”महानिर्देशक भुसालले बाह्रखरीसँग भने ।

चालु आर्थिक वर्ष २०८३/८४को भदौ महिनासम्ममा चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँ बराबरको सामान आयात भैसकेको छ । यससँगै उक्त दुई महिनामा नेपालबाट २९ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ । तर चीनसँगका सबै नाका बन्द हुँदा मुलुकको आयात –निर्यात प्रभावित बनेको छ ।

चीन नेपालको दोस्रो ठूलो आयात श्रोत देशको सूचीमा रहेको छ । गत आर्थिक वर्षकोको तथ्यांकअनुसार नेपालको कुल आयातमा चीनको हिस्सा करिब २०.२८ प्रतिशत छ । यस्तै, मुलुकको आठौँ ठूलो निर्यात गन्तव्य चीन हो । तर छिटो उक्त नाका नखुले नेपालको आयात तथा निर्यातमा नोक्सानी व्यहोर्नुपर्ने परिस्थिति देखिएको छ ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया