Online Bichar
बुधबार, आश्विन ०७, २०८३ | Wednesday, September 23, 2026

काठमाडौँ, ७ असोज २०८३ । युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ।

मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरी असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको ईटहरीमा मेला आयोजना गर्न लागेको जानकारी दिएको हो।

सीप विकास तथा रोजगारी प्रवर्द्धनका लागि सीप तथा रोजगार मेला राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्न लागिएको मन्त्रालयका सहसचिव एवं सीप तथा रोजगार मेलाका संयोजक हेमराज तामाङले बताए। मन्त्रालयले सातै प्रदेशलाई समेट्ने गरी सात चरणमा मेला आयोजना गर्ने तयारी गरेको उनले जानकारी दिए। सोहीअनुसार पहिलो चरणमा कोशी प्रदेशको ईटहरीमा मेला आयोजना गर्न लागिएको उनले बताए।

सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने उद्देश्यले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने नीति लिएको छ। सोही नीतिअनुसार मन्त्रालयले मेलामार्फत सीप सिक्न इच्छुक व्यक्तिलाई आवश्यक सीप विकासको अवसर उपलब्ध गराउने तथा सीप हासिल गरिसकेका जनशक्तिलाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोड्ने गरी मेला आयोजना गरेको हो। मेलामा जब प्लेसमेन्ट तथा रोजगारदाता र श्रमिकबीच सीपअनुसारको मिलान गर्ने व्यवस्था गरिने उनले बताए।

तामाङले भने, ‘यो सीप तथा रोजगार मेला नेपाल सरकारकै तर्फबाट आयोजना गर्न लागिएको हो। वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्दै नेपालमै रोजगारीका सुन्दर अवसर सिर्जना गर्न सरकारले रोजगारी दशकको अवधारणा अघि सारेको छ। यसैलाई सहयोग पुग्ने गरी यो मेला राष्ट्रिय फ्ल्यागसिप कार्यक्रमका रूपमा आयोजना गर्न लागिएको हो।’

उनले यो मेला सामान्य नभई राष्ट्रिय अभियान भएको उल्लेख गर्दै सीप सिक्न चाहनेलाई अवसर दिने र दक्ष भइसकेकालाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोड्ने मुख्य ध्येय रहेको स्पष्ट पारे। यही क्रममा पहिलोपटक कोशी प्रदेशको इटहरीमा २०८१ साल असोज १४ देखि २० गतेसम्म सात दिन मेला सञ्चालन गर्न लागिएको उनले बताए।

मेलामा उद्योग, सेवा, कृषि, निर्माण लगायतका विभिन्न १० विधामा जम्मा ६५ वटा स्टलहरू रहने छन्। मेलाले उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ। तीनै तहका सरकार, निजी क्षेत्र एवं विकास साझेदारको सहभागिता र सहकार्यमा कोशी प्रदेशमा यो मेला सञ्चालन गर्न लागिएको हो।

तपाईको प्रतिक्रिया