Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

काठमाडौं, २६ भदौ २०८३ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० सहित १३१ देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने भएका छन् । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले उक्त जानकारी दिएका हुन् ।

“संयुक्त राष्ट्रसंघबाट प्राप्त जानकारीअनुसार ८१ राष्ट्रका राष्ट्रप्रमुख र ५० देशका सरकार प्रमुख ८१औँ महासभामा सहभागी हुने कार्यक्रम तय भएको छ,” परराष्ट्र सचिव राईले भने ।

प्रधानमन्त्री शाहको नेतृत्वको नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने कार्यक्रम तय भएको उनले जनाए ।

महासभाको उच्चस्तरीय बहस २२ देखि २८ सेप्टेम्बर, २०२६ सम्म अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुनेछ । महासभाको उच्चस्तरीय बहसमा प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जनाए ।

“नेपालमा गत वर्ष भएको जेनजी आन्दोलन, त्यसपछि भएको सफल निर्वाचन, सोमार्फत ठूलो जनमतसहित गठन भएको वर्तमान सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न र अन्तर्राष्ट्रिय सहयोग एवं सद्भावको निरन्तरता तथा बढोत्तरीका लागि उच्चस्तरबाटै आह्वान गर्न यो महासभा महत्त्वपूर्ण अवसरको रूपमा रहेको छ,” परराष्ट्र सचिव राईले भने ।

 

तपाईको प्रतिक्रिया