विराटनगर, २२ भदौ २०८३ । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव पक्राउ परेका छन् ।
लागुऔषध गाँजा बरामद गरिएको एउटा गाडीमा टाँसिएको स्टिकर प्रहरी कार्यालयभित्रै छिरेर उप्काएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले यादवले इलाका प्रहरी कार्यालय रानीको परिसरभित्र अनधिकृत रूपमा प्रवेश गरी अनुसन्धानका लागि राखिएको गाडीको प्रमाण नष्ट गर्न खोजेको दाबी गरेको छ ।
प्रहरीले ५० किलो २९० ग्राम गाँजासहित नियन्त्रणमा लिएको को १ च ६६२० नम्बरको मारुती भ्यानमा ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको स्टिकर टाँसिएको थियो ।
प्रहरी हिरासतमा रहेको उक्त गाडीबाट यादवले सो स्टिकर उप्काउँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका यादव विराटनगर महानगरपालिका वडा नं.१४ का बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार यादवलाई भदौ २२ गते पक्राउ गरिएको हो । उनलाई अदालतबाट ७ (सात) दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गाँजा तस्करीमा प्रयोग भएको भनिएको गाडीमा अस्पतालको स्टिकर प्रयोग गरेर सुरक्षाकर्मीलाई छल्न खोजिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सोही स्टिकर उप्काएर प्रमाण मेटाउन खोजेको भन्दै विद्यार्थी नेता यादवमाथि प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको हो।






