Online Bichar
मंगलबार, भाद्र २३, २०८३ | Tuesday, September 8, 2026

काठमाडौं, २२ भदौ २०८३ । नेपाली सेनाले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका सबै टनेल ‘ब्रेक थ्रु’ नहुन्जलेसम्म खोज तथा उद्धार कार्य जारी रहने बताएको छ ।

भोटेकोसी बाढीका सम्बन्धमा जानकारी दिने उदेश्यले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

“जबसम्म सबै टनेल ‘ब्रेक थ्रु’ हुँदैन तबसम्म खोज तथा उद्धार जारी रहन्छ । सरकारले अब पर्दैन भन्यो भने मात्र रोकिन्छ,” नेपाली सेनाको त्रिशूलीस्थित ट्याक्टिकल हेडक्वाटरमा अहिले खोज तथा उद्धार कार्य हेरिरहेका सहायक रथी सुवासजंग थापाले भने ।

बाढी र मौसममा भइरहने परिवर्तनका सम्बन्धमा चिनियाँ दूतावासबाट रिपोर्टहरू आइरहेको उनले जनाए । चिनियाँ रिपोर्टअनुसार भदौ १० गतेको पहिरोले बनेको हिमतालहरू हाल सामान्य रहेता पनि थप ताल बन्ने जोखिम कायमै रहेको उनले बताए ।

“क्र्याक्सहरू पर्याप्त मात्रामा देखिएको छ । यो जोखिमको अवस्थामा हाम्रो संयुक्त सुरक्षा टोली परिचालन भएको छ,” सहायक रथी थापाले भने ।

भदौ १० गते लाङटाङ हिमालबाट हिमपहिरो गएर भोटेकोसी नदीमा बाढी आएको उनले जनाए । २०७२ सालमा पनि त्यही ठाउँबाट दक्षिणतर्फ पहिरो झर्दा घोडा तबेला र लाङटाङ इलाकामा प्रत्यक्ष असर गरेको उनले स्मरण गरे ।

ठूलो पहिरो र लेदोसहितको बाढी भोटेकोसी नदीमा आउँदा त्रिशूली हुँदै बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्वमा समेत धैरै ठूलो जनधनको क्षति गरेको उनले बताए ।

“मुख्यगरी टिमुरे, स्याफ्रुबेसी, बेत्राबती, त्रिशूलीलगायत नदीका किनारमा रहेको बस्ती र हाइड्रोहरूमा ठूलो मात्रामा यसले क्षति पुर्‍याएको देखिन्छ,” सहायक रथी थापाले भने ।

बाढी आएलगत्तै त्रिशूलीमा ट्याक्टीकल हेडक्वाटर खडा गरी खोज तथा उद्धारलाई द्रुत गतिमा अघि बढाइएको उनले जनाए । नेपाली सेनाको एकउपरथीको नेतृत्वमा ट्याक्टीकल हेडक्वाटर खडा गरिएको हो । यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पनि डीआईजीको नेतृत्वमा ट्याक्टिकल हेडक्वाटर खडा गरी खोज तथा उद्धार कार्य गरिरहेको उनले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई गति प्रदान गर्न रसुवाको धुन्चेमा सहायक रथीको नेतृत्वमा फर्वाड हेडक्वाटर राखिएको छ । यसले धुन्चेबाट सहजीकरणको काम गरिरहेको उनले जनाए ।

बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका टनेलहरूमा नेपाली सेनाको अगुवाइमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा काम गरिरहेको उनले बताए ।

नेपाली सेनाको इन्जिनियरिङ टोलीबाट पुल निर्माण तथा बाटो खोल्ने काम भइरहेको छ । संयुक्त फौजबाट वारिपारि सम्पर्कविहीन, एकान्तमा रहेका बस्ती तथा क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको उनले जनाए ।

“भोटेकोसीदेखि मुग्लिनसम्म ११ वटा हाइड्रोपावर देखियो । हाइड्रोपावरमा ठूलो क्षति भएको छ,” सहायक रथी थापाले भने ।

भदौ १० गते बिहान ८स्४० देखि ८स्४७ बजेसम्मको बीचमा बाढीले रसुवागढी–केरुङ नाकामा रहेको चिनियाँ अध्यागमनमा क्षति गरेको उनले जनाए ।

सहाथक रथी थापाका अनुसार, ९ बजे अध्यागमन खुल्ने भएको कारणले नेपालतर्फ र चीनतर्फको ड्राइपोर्टमा बाढी आएको समयमा अत्यधिक मानिसहरू थिए । मानसरोवर जाने टोली, व्यापारी गतिविधिमा संलग्न टोलीलगायत हाइड्रो पावरमा प्रत्यक्ष र अप्रत्यक्ष जोडिएका व्यक्ति त्यतिखेर उक्त क्षेत्रमा रहेका थिए ।

केही व्यक्तिहरू रसुवागढी–केरुङ नाकाभन्दा केही तल रहेको टिमुरे गाउँमा रहेको उनले जनाए । टिमुरे पयर्टक हब भएका कारण त्यहाँ ठूलो संख्यामा पर्यटक रहेको उनले जनाए ।

“जुन मान्छेहरू अध्यागमन क्रस गर्ने क्रममा थिए उनीहरू त्यही थिए । जो मान्छे रेस्ट गर्दै थिए ती टिमुरेका विभिन्न होटेल र घरमा थिए,” बाढी आउनुअघिको अवस्थाबारे उनले भने ।

बाढी आउँदा भोटेकोसी हाइड्रो सञ्चालनको लागि १६ जना व्यक्तिहरू थिए । तीमध्ये अपरेसनको लागि भित्र तीनजना, सफाइ गर्नको लागि दुईजना थिए भन्ने जानकारी प्राप्त भएको उनले बताए । अन्य व्यक्ति सबै आवासमा थिए ।

“सुरुमा सतहमा देखिएकालाई उद्धार गर्यौं । इन्फारेड ड्रोनबाट पनि हेर्यौं, थर्मल इमेज । थर्मल इमेजले जमिनमुनिको नदेखाउन सक्छ । अन्य प्रभावित क्षेत्रमा पनि थर्मल इमेज लिएर रेकर्डमा राखेका छौँ । यसैक्रममा बेत्रावतीमा ६४ वर्षीया महिलाको उद्धार भएको हो,” सहायक रथी थापाले भने ।

प्राविधिक कारणले रसुवागढी हाइड्रोपावरमा स्काभेटर झार्न नसकिएको उनले स्पष्ट पारे । एमआई १७ हेलिकोप्टर त्यहाँ बस्नको लागि ठाउँ नपुगेका कारण ठूला उपकरण र मेसिन लैजान कठिनाइ परेको उनले सुनाए ।

लाङटाङ जलविद्युत् आयोजनामा सेनाले बाढी आएकै दिन भदौ १० गते हेलिकोप्टबाट रेकी गरेको उनले सुनाए । लाङटाङ आयोजनाको टनेलमा भदौ १३ गतेबाट भारतीय विज्ञ टिमसँगै खोज तथा उद्धार सुरु गरिएको थियो ।

“टनेललाई काटेर छिर्नुपर्छ भनियो । टनेल मेन्टिनेन्सको लागि भित्र ६ जना हुनसक्ने भन्ने खबर थियो । टनेल काटेर हामी भित्र छिर्यौं । एउटा शव देखियो । हामीले भित्र छिरेर उद्धार गर्यौं, उद्धार कार्य अझै निरन्तर जारी छ,” सहायक रथी थापाले भने ।

चिलिमे जलविद्युत् आयोजनामा पनि सेनाले भदौ १० गते नै रेकी गरेको थियो । यहाँ खोज तथा उद्धारमा भारतीय विज्ञ टोली पनि सहभागी छ । भदौ १४ गतेदेखि यहाँ खोज तथा उद्धार निरन्तर जारी छ ।

“चिलिमेबाट दुईवटा शव संकलन गरिएको थियो, तर ती शव बाढीले बाहिरबाट भित्र लगेको भन्ने छ । टनेलको ११० मिटरसम्म पुगेका छौँ, जारी छ काम,” उनले भने ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सबैभन्दा धेरै कामदार, कर्मचारी छन् । यहाँ कामदार नेपाली र भारतीय रहेका छन् । यसमा पनि भदौ १० गते नै सेनाले रेकी गरेको थियो । यहाँ चिनियाँ विज्ञ टिमलाई सहभागी गराइ भदौ १४ गतेबाट खोज तथा उद्धार कार्य सुरु गरिएको हो ।

“सुरुमा २०० मिटर अगाडि एउटा शव भेटिएको थियो । ११औँ दिनको प्रयासपछि एक चिनियाँ नागरिकको जीवितै उद्धार गरियो । यहाँ दुईवटा शव पनि भेटिएका थिए,” सहायक रथी थापाले भने ।

त्रिशूली–३ ‘ए’ चालु जलविद्युत् आयोजना हो । बाढी आउँदा यसमा ४६ जना मानिस फसेका छन् भन्ने सूचना आएको थियो । सामान झार्न सजिलो भएका कारण यहाँ चारवटा स्काभेटर चलाइएको छ । “बाढी आएको १०औँ दिनमा यहाँबाट दुई कर्मचारीको जीवितै उद्धार गरियो र एउटा शव संकलन गरियो,” सहायक रथी थापाले भने ।

त्रिशूली–३ ‘बी’मा सेनाले बाढी आएकै दिन भदौ १० गते रेकी गरेको थियो । ९० जनाको खोज तथा उद्धार टोली यहाँ काम गरिरहेको छ ।

विभिन्न विद्युत् आयोजनाका टनेलमा ९०० हाराहारीमा मानिस फसेको हुनसक्ने अनुमान गरिएको छ । तर, सहायक रथी थापा भने १२१ जना मात्रै टनेलभित्र रहेको हुनसक्ने बताउँछन् ।

 

तपाईको प्रतिक्रिया