झापा, १८ भदौ २०८३ । अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा ग्लोवल ओरियन्सका तीन जनामाथि जाहेरी परेको छ ।
बिर्तामोड-५ स्थित बुद्धनगरमा रहेको ग्लोबल ओरियन्सको कार्यालयका शाखा प्रमुख पिताम्बर कट्टेल , अर्जुनधारा मल्टी पर्पोजका सुजन लिम्बू र सुशील थापाविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी परेको हो । इलाम निवासी कट्टेल र लिम्बू हिजो नै पक्राउ परेका छन् भने थापा फरार रहेका छन् । कट्टेल र लिम्बूलाई आज अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ग्लोबल ओरियन्सको कार्यालयमा हिजो दिउँसो ३ बजेतिर इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठक नेतृत्वको प्रहरी टोलीले छापा मारेको थियो ।
त्यसक्रममा अर्जुनधारा मल्टीे पर्पोजका संचालक लिम्बू, ग्लोबल ओरियन्सका शाखा प्रमुख कट्टेलसहित २२ जना महिला र १९ जना पुरुष गरी ४१ जना पक्राउ परेका थिए । पक्राउ परेका महिलाहरुलाई जिल्ला प्रहरी कार्यालय भद्रपुर लगिएको थियो भने पुरुषहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको थियो । पक्राउ परेका अन्यलाई बाहिर राखेर अनुसन्धान गर्ने गरी छोडिएको प्रहरीले जनाएको छ । प्रहरीले औषधी , चेकजाँच गर्ने मेशिन , कागजात र केही नगद बरामद गरेको छ ।
शैक्षिक परामर्श र तालिम गराउने उद्धेश्यले खोलिएको अर्जुनधारा मल्टी पर्पोज नामक कम्पनीसंग मिलेर ग्लोबल ओरियन्सले अवैध रुपमा स्वास्थ्य जाँच गर्नुका साथै औषधी बिक्री वितरण गर्दै आएको थियो । होलबडी चेक गरिदिने भन्दै कक्षा १२ पढेका पिताम्बर कट्टेलले एउटा मेशिनबाट स्वास्थ्य जाँच गराउँदै आएका थिए । चेकजाँच गरेवापत् एक हजार रुपैयाँ शुल्क लिने गरेका थिए । उनीहरुले सबै रोग निको पारिदिने भन्दै गाउँका सर्वसाधारणलाई झुक्यानमा पार्दै आएका थिए ।






