इलाम, १८ भदौ २०८३ । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आज दिउँसो करिब ४ः४५ बजे झापाबाट इलामतर्फ जाँदै गरेको डब्लुबी २९ बी२९४४ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा ट्रकका सहचालक भारत, दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक भारत, दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३० वर्षीय रबिन बर्मुन र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ का २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका छन्।
प्रहरीका अनुसार चालक बर्मुनको बाहिरी चोटपटक देखिएको छैन र उनी बोल्न सक्ने अवस्थामा छन्। तामाङको बायाँ हातमा सामान्य चोट लागेको छ। दुवैलाई थप उपचारका लागि अस्पताल पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रतिदिनबाट






