काठमाडौं, १८ भदौ २०८३ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीमा परी हराइरहेकाहरूको खोज तथा उद्धारमा नेपालबाहेक पाँच देशका विज्ञ टोलीहरू खटिएका छन् ।
बाढी प्रभावित क्षेत्रमा भारत, चीन, दक्षिण कोरिया, सिंगापुर र इजरायलका विज्ञ टोलीले खोज तथा उद्धारमा नेपाललाई सघाइरहेका छन् ।
“यस विपद्का केही पक्षहरूका लागि उच्चस्तरीय विशेष क्षमताको आवश्यकता पर्ने कुरालाई मध्यनजर गर्दै नेपालले विशिष्ट क्षेत्रहरूमा अन्तर्राष्ट्रिय सहयोग मागेको थियो,” परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोसी बाढी घटनाबारे ब्रिफिङ गर्नेक्रममा भनेका थिए ।
नेपालले विशेषगरी दुई क्षेत्रमा विदेशी सहयोग मागेको थियो । पहिलो, बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका टनेलभित्र खोज तथा उद्धार गर्ने विज्ञ टोली र दोस्रो, शवहरूको पहिचान गर्न फोरेन्सिक तथा पहिचान सहायता ।
“भारत, चीन र दक्षिण कोरियाका विशेष टनेल (सुरुङ) उद्धार सहयोग टोलीहरू परिचालन गरी नेपाली सेनाको समन्वयमा काम भइरहेको छ,” परराष्ट्रमन्त्री खनालले कूटनीतिक समुदायलाई जानकारी दिएका थिए ।
परराष्ट्रमन्त्री खनालका अनुसार, लाङटाङ र चिलिमे विद्युत् आयोजनामा भारतीय टनेल उद्धार टोली, माथिल्लो त्रिशूली–३ ‘ए’मा चिनियाँ टनेल उद्धार टोली र माथिल्लो त्रिशूली–१ मा कोरियाली टनेल उद्धार टोली कार्यरत छन् ।
“इजरायलको एउटा टोली पनि जोडिएको छ, जसले तल्लो तटीय क्षेत्रमा शवहरू पत्ता लगाउन सहयोग गरिरहेको छ,” परराष्ट्रमन्त्री खनालले बताए ।
टनेल र अन्य क्षेत्रहरू लेदो, भग्नावशेष र ठूला ढुंगाहरूले भरिएकाले अत्यन्त कठिन परिस्थितिमा खोज तथा उद्धार कार्य जारी रहेको उनले जनाएका छन् । यी कार्यहरूलाई तीव्र बनाउन थप उपकरण र लजिस्टिक सहयोग आउँदै गरेको समेत उनले बताए ।
“फोरेन्सिक तथा पहिचान सहायता पनि उपलब्ध गराइँदै छ । भारत, चीन, सिंगापुर र कोरिया गणतन्त्रका टोलीहरूले फेला परेका मानव अवशेषहरूको पहिचानमा नेपाल प्रहरीलाई सहयोग गरिरहेका छन् भने थप जनशक्ति र उपकरणहरू आउनेक्रम जारी छ,” परराष्ट्रमन्त्री खनालले भने ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, १९ सदस्यीय भारतीय फोरेन्सिक टोली र चीनबाट आएका पाँच सदस्यीय विशेष फोरेन्सिक टोलीले नेपाली टोलीसँग मिलेर काम गरिरहेका छन् ।
सिंगापुरको २४ सदस्यीय विपद् पीडित पहिचान (डीभीआई) टोलीमध्ये १९ जना सदस्यहरू नेपाली टोलीसँग मिलेर काम गरिरहेका छन् । हाल जारी डीएनए संकलन, विश्लेषण तथा प्रतिवेदन कार्यलाई तीव्र बनाइरहेका छन् ।
सिंगापुरको डीभीआई टोलीका बाँकी सदस्यहरू ड्रोन र सम्बन्धित सामग्रीहरूसहित बिहीबार र शुक्रबारसम्म आइपुग्ने प्रवक्ता क्षेत्रीले बताए ।
“दक्षिण कोरियाका दुईजना फोरेन्सिक अधिकारी पनि आवश्यक उपकरण तथा औजारहरूसहित हालै काममा जोडिएका छन्,” प्रवक्ता क्षेत्रीले भने ।
खोज तथा उद्धारमा नेपालभित्र र विश्वभर उपलब्ध सबै प्रकारका विज्ञता र स्रोतसाधनको अधिकत्तम उपयोग गरिएको उनले जनाए ।






