Online Bichar
शनिबार, भाद्र १३, २०८३ | Saturday, August 29, 2026

झापा, १२ भदौ २०८३ । नेपालका डान्सवारका लागि भारतबाट तस्करहरुले ल्याउँदै गरेका चार नाबालिका र दुई युवतीलाई भारतीय प्रहरीले पूर्वी नाका पानीटंकीमा उद्धार गरेको छ ।

उनीहरुलाई ल्याउने दुईजना मानव तस्कर पक्राउ परेका छन् । हिजो साँझ ६ बजे सम्भावित मानव तस्करीविरुद्धको ठुलो कारबाहीमा एसएसबीले चार नाबालिका र दुई युवतीलाई उद्धार गरेको हो । सोधपुछका क्रममा ती नाबालिकाहरुलाई भारतबाट बिराटनगरस्थित लोटस डान्सबारका लागि मगाइएको थियो ।

एसएसबीले भने अनुसार कोचबिहारकी आन्ना भनेर परिचित महिला र बिराटनगरको लोटस डान्सबारकी मेनेजर विक्की कौशिक ती नाबालिकाहरुको ओसारपसारमा संलग्न भएको देखिएको छ। उनीहरू त्रिपुराका निर्मल देववर्मा र जलपाइगुडीका चिन्मय बसाकसँग युवतीहरूलाई डान्सबारमा ल्याउन सम्पर्कमा थिए।

उद्धार गरिएका नाबालिकाहरु १४ देखि १७ वर्षसम्मका छन् । त्यस्तै युवतीहरु २१ र २४ वर्षका छन् । पक्राउ पर्ने मानव तस्करहरू ढुलाई, त्रिपुरा निवासी २५ वर्षीय निर्मल देवबर्मा र मायनागुडी, जलपाईगुडी निवासी ३२ वर्षीय चिन्मय बसाक रहेका छन् ।

 

तपाईको प्रतिक्रिया