Online Bichar
सोमबार, भाद्र ०१, २०८३ | Monday, August 17, 2026

काठमाडौं, १ भदौ २०८३ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्का घटनाबाट जनधनको क्षति हुन नदिन सबैखाले तयारी गरेको छ ।

प्राधिकरणले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । विपद्का घटना भैहाले खोज तथा उद्धारको लागि २६ हजार २१९ सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ ।

तयारी अवस्थामा राखिएका सुरक्षाकर्मीमा सात हजार ५२४ नेपाली सेना, १० हजार ५८५ नेपाल प्रहरी र आठ हजार ११० सशस्त्र प्रहरी बल रहेका छन् । यसमा १३४ जना गोताखोर पनि रहेका छन् ।

‘सिचुएसन रुम’ मार्फत सातै दिन चौबिसै घण्टा विपद् निगरानी, सूचना अद्यावधिक तथा सम्बन्धित निकायसँग समन्वय गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, सबैभन्दा बढी बाढी प्रभावित जिल्लाका ५५ स्थानमा पूर्वसूचना तथा पूर्वकार्यका लागि साइनर सञ्चालनमा रहेका छन् । देशभरी १९७ वटा दमकल र ४६० वटा एम्बुलेन्स सञ्चालनमा रहेको प्राधिकरणको भनाइ छ ।

विपद् पोर्टलमा देशभरका ५३४ वटा गोदामघर अद्यावधिक भएका छन् । खोज तथा उद्धार र पहिरो हटाउनको लागि ७४ वटा ब्याकहो लोडर, दुईवटा क्रेन, १३ वटा प्रोर्टेवल पुल, ६१२ वटा वाटर रेस्क्यु क्राफ्ट, ६ वटा डोजर ट्रयाक, ८१ वटा एक्साभेटर सञ्चालनमा रहेको जनाइएको छ ।

खोज तथा उद्धार र राहत वितरणको लागि देशभर ३७ वटा हेलिकोप्टर राखिएका छन् । यसमा नेपाली सेनाको सुर्खेतमा एउटा र काठमाडौंमा दुईवटा हेलिकोप्टर पूर्वतैनाथी अवस्थामा रहेका छन् । निजी क्षेत्रसँग समन्वय गरी आवश्यक परेको खण्डमा परिचालन गर्न सकिने गरी ३४ वटा हेलिकोप्टर समेत तयारी अवस्थामा रहेका छन् ।

काठमाडौं उपत्यकाभित्र निःशुल्क र बाहिर सहुलियत दरमा हेलिकोप्टर उद्धार गर्ने गरी समझदारी भएको प्राधिकरणले स्पष्ट पारेको छ । खोज तथा उद्धारमा तीव्र गतिमा गर्न सकियोस् भनेर देशभर एक हजार २४ वटा हेलिप्याट विपद् पोर्टलमा अद्यावधिक गरिएको छ ।

देशभर जोखिमयुक्त १२२ स्थानको भौगर्भिक अध्ययन पनि भइरहेको प्राधिकरणले जनाएको छ । र्‍याफ्टिङ तथा ड्रोन एसोसिएसनसँगको समन्वयमा र्‍याफ्ट बोट र उद्धार टोली तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको प्राधिकरणले बताएको छ ।

“केन्द्रीय विपद् व्यवस्थापन कोष र जिल्ला विपद् व्यवस्थापन कोषमा न्यूनतम मौज्दात सुनिश्चित गरिएको छ । प्रदेश र स्थानीय तह विपद् व्यवस्थापन कोषमा समेत न्यूनतम मौज्दात राख्न समन्वय गरिएको छ,” प्राधिकरणले जनाएको छ । विभिन्न कोषमा सात अर्ब ५६ करोड २३ लाख ९२ हजार ४४५ रुपैयाँ रहेको छ ।

प्राधिकरणका अनुसार, यस वर्ष मनसुन सुरु भएपछि एक हजार ३७३ वटा मनसुनजन्य घटना रेकर्ड भएका छन् । ती घटनामा परी ६७ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । मनसुनजन्य घटनामा परेर आठजना बेपत्ता भएका छन् ।

तपाईको प्रतिक्रिया