झापा, २५ साउन २०८३ । सशस्त्र प्रहरी बलले झापामा एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद गरेको छ । आर्थिक वर्ष २०८२–०८३ मा १३ करोड ९ लाख १८ हजार ४४१ रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिए।
त्यस्तै एक वर्षको अवधिमा १ करोड ४२ लाख ११ हजार ८८ रुपैयाँको अवैध काठ बरामद गरी सशस्त्र प्रहरीले दाखिला गरेको छ । आठ वटा सवारी साधनसहित १५०७ क्युफिट र ५१ थान फर्निचर काठ बरामद गरिएको रसाईलीले जानकारी दिए ।
त्यस्तै अवैध उत्खनन् गरिरहेका ८० वटा सवारी साधनलाई नियन्त्रणमा लिई २५ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
लागूऔषध नियन्त्रणमा सक्रियताका साथ लागिरहेको सशस्त्र प्रहरीले लागूऔषधको कारोबारमा संलग्न १४८ जनालाई नियन्त्रणमा लिएको छ । १३५ जना पुरुष र १३ जना महिलालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रसाईलीले जानकारी दिए।
उनका अनुसार ३२ वटा सवारी साधन नियन्त्रणमा लिइएको थियो । सशस्त्र प्रहरीले गाँजा १७९० ग्राम , ब्राउन सुगर ८२३ ग्राम ३४९५ मिलिग्राम , इन्जेक्सन ९ वटा र ट्याब्लेट ४४ पत्ता, ३८ हजार वटा बरामद गरिएको गणले जनाएको छ ।






