झापा, २४ साउन २०८३ । झापाको बिर्तामोडमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार पाँच जना घाइते भएका थिए। घाइतेमध्ये झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखि बिवीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। सुखि बिवीको उपचारका क्रममा दिउँसो १ः३० बजे मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






