काठमाडौं, १० साउन २०८३ । लजिन थापा र असिम वन मिल्ने साथी हुन् । एउटै उमेर समूहका उनीहरुका अन्य पनि साथी सर्कल छन् । बागलुङ बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिनसहित सातजना साथीहरु असिम वनको जन्मदिन बनाउन उनको घर नजिकै एक स्कुलको चौरमा पुगे साउने १ गते साँझ ।
असिमको जन्मदिन मनाउन लजिनसहित १७ वर्षीय सुदिप बिक, १६ वर्षीय ददी परियार र २० वर्षीय रेमबहादुर विक पनि असिमको जन्मदिन मनाउन पुगे । उनीहरु एउटै गाउँका र मिल्ने साथीहरु नै हुन् । असिम १६ पूरा भएको अवसरमा साथीहरुको जमघट थियो ।
स्कुलकै खुला चौरमा जन्मदिन मनाउँदै लजिन, सुदिप, ददी, रेमबहादुर, असिमसहित सातजनाले नै मदिरा सेवन गरे ।
साउनको १ गते राति १० बजेदेखि नै मदिरा सेवन गर्न सुरु गरेका उनीहरुले साउन २ गते बिहान ३ बजेसम्म चौरमै रमाइलो गरे ।
साथीको जन्मदिन मनाउन गएको लाउँलाउँ खाउँखाउँ उमेरको छोरो लजिन भोलिपल्ट साँझसम्म घर नर्फकिएपछि भने बुबा बोमहादुर थापा र आमा देउमाया थापा चिन्तामा परे । तर, जन्मदिन मनाउँदा राति अबेरसम्म नसुत्दा दिनभर कतै सुते कि भन्ने आमाबुबालाई लाग्यो ।
तर, साउन २ गतेको रात बित्दा पनि लजिन घर नफर्किएपछि भने परिवार आत्तिए ।
साथीहरुबीच खोजी गर्न थाले । कहीँ भेटिएनन् । आमाबुबा प्रहरीको सहयोगका लागि प्रहरी कार्यालय पुगे । लजिनको परिवारले ईलाका प्रहरी कार्यालय गलकोटमा निवेदन नै दिए । लजिन बोमहादुर र देउमायाका एक्ला छोरा थिए ।
प्रहरीलेसमेत उनको मोबाइल नम्बरको लोकेशनमार्फत खोजी थाल्यो । तर, उनी भेटिएनन् । लजिनको नम्बर साउन १ गतेको साँझबाट नै अफ भइसकेको थियो ।
लजिनका परिवारले उनको खोजीका लागि ९ दिनपुरै बिताए । कहीँ भेटेनन् ।
शनिबार साउन ९ गते भने लजिनको शव बडिगाँउकै मनखोलामा गाडेको अवस्थामा फेला पर्यो । लजिनका आमाबुबा मुर्छित छन् । ददी र रेमबहादुरलाई केरकार गरेपछि भने उनीहरुले शव गाडेको खोला देखाएका थिए । प्रहरीले लजिनको शव धौलागिरी प्रादेशिक अस्पतालमा राखेको छ ।
आइफोन लुट्न साथीहरुले नै गरेका थिए हत्या
लजिनको हत्याको आरोपमा बागलुङ प्रहरीले उनकै साथीहरु असिम, सुदिप, रेमबहादुर र ददीलाई पक्राउ गरेको छ ।
बागलुङ प्रहरीले हत्याको आशंकामा उनीहरुलाई शनिबार नै पक्राउ गरेको हो । प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा मदिरा सेवन गरेका लजिनलाई उनीहरुले घर पुर्याइदिने भन्दै आधा बाटोमा पुगेपछि कुटपिट गर्दै हत्या गरेको खुलेको छ ।
हत्यापछि चारजनाले नै लजिनको शव करिब आधा घण्टा बोकेर खोलामा फालेको खुलेको छ ।
प्रहरीले उनीहरुमाथिको अनुसन्धान गर्दा तालिम प्राप्त कुकुरदेखि पोलियोग्राफ टेस्टसमेत गरेको थियो ।
पक्राउ परेकाहरुमध्ये ददी परियार र रेमबहादुरले हत्या आफूहरुले गरेको स्वीकार गरेका छन् ।
बागलुङ प्रहरी प्रमुख एसपी फणिन्द्र प्रसाईंका अनुुसार लजिनको हत्याको मूख्य कारण भने उनले बोक्ने आइफोन भएको खुलेको छ ।
काठमाडौं बसेर पढ्दै गरेका लजिनसित आइफोन थियो । त्यही आइफोन देखेर पक्राउ परेका उनका साथीहरु लोभिएका थिए ।
एसपी प्रसाईं भन्छन्, ‘‘हत्या हुनुअघि समेत उनीहरुले लजिनसित फोटो राम्रो आउने भएपछि आइफोन माग्ने गरेका रहेछन् । तर, लजिनले कहिले दिने र कहिले नदिने गरेका कारण उनीहरु लजिनदेखि रिसाएको देखिन्छ । असिमको जन्मदिनमा पनि आइफोनबाट फोटो खिच्ने विषयमा नै विवाद भएको र फर्किँदा हत्या गरेको देखिएको छ ।’’
प्रहरीको अनुसन्धानका क्रममा हत्यापछि लजिनको आइफोनसमेत उनीहरुले लुटेका थिए । प्रहरीले हाल पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गरिरहेको छ । हत्यापछि शव गायब पार्न उनीहरुले ठूलो प्रयास गरेको देखिएको एसपी प्रसाईंको भनाइ छ ।बाह्रखरीबाट






