झापा, ६ साउन २०८३ । झापाको दमकमा श्रीमान–श्रीमतीबीच झगडा हुँदा श्रीमतीमाथि खुकुरी प्रहार भएको छ भने त्यसपछि श्रीमानले आत्महत्याको प्रयास गरेका छन्। आज (बुधबार) दिउँसो करिब २ बजे दमक नगरपालिका–१ सिरपाली चोक निवासी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी दर्जीबीच वादविवाद भएपछि झै–झगडा भएको थियो।
प्रहरीका अनुसार झगडाकै क्रममा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गर्दा उनको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ।
घटनापछि धनबहादुरले आफ्नै घरको अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए। सोही क्रममा उनकी २५ वर्षीया छोरी प्रियंका दर्जीले देखेपछि पासो काटेर उनलाई तत्काल भुइँमा झारेकी थिइन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पताल पठाएको जनाएको छ।
हाल दुवै जनाको अवस्था गम्भीर रहेको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






