सप्तरी, ३२ असार २०८३ । सप्तरी प्रहरीले मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले भारतको विहार राज्यअन्तर्गत पर्ने मधुवनी जिल्लाको खुटौना पिपराहीका २८ वर्षीय मो. सादर नटलाई बुधबार साँझ पक्राउ गरेको हो । घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानमा बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा मोटरसाइकलको ठक्करबाट एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुर निवासी १४ वर्षीय मो. सादिक रहेका छन् ।
घटना दुर्घटना मात्र हो वा हत्यासमेत जोडिएको छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ घिमिरेले जानकारी दिनुभयो ।
बुधबार साँझ ७ बजे प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा बिसनपुर–बोदेबरसाइन सडकखण्डमा खटिएको प्रहरी टोलीले शङ्का लागेर सो मोटरसाइकललाई पछ्याएको थियो ।
त्यस क्रममा बीआर ३२ बी ९७६४ नम्बरको अपाचे मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर पश्चिम–दक्षिणतर्फ बोदेबरसाइन नगरपालिका–२ हुँदै खडक नगरपालिका–१ स्थित दिनाभद्री थान क्षेत्र नजिक शव फालेर भाग्न खोजेका थिए । सोही समयमा स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले भारतीय नागरिक नटलाई पक्राउ गरेको हो । घटनापछि फरार रहेका अर्का एक जनाको खोजीका साथै विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।गोरखापत्र अनलाइनबाट






