झापा, ३२ असार २०८३ । झापाको बाह्रदशी गाउँपालिकामा खुल्ला प्रतिस्पर्धाबाट १६ जना प्रधानाध्यापक छनोट भएका छन् । गाउँपालिकाले छनोट भएका सामुदायिक विद्यालयका १६ जना प्रधानाध्यापकसँग करार सम्झौता गरी नियुक्तिपत्र दिएको छ। बुधबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि नवनियुक्त प्रधानाध्यापकहरूसँग करार सम्झौतामा हस्ताक्षर गराई नियुक्तिपत्र प्रदान गरेको हो।
गाउँपालिकाले सामुदायिक विद्यालयको प्रधानाध्यापक नियुक्तिमा पहिलोपटक खुल्ला प्रतिस्पर्धाको अभ्यास गरेको थियो। गाउँ शिक्षा समितिले सूचना प्रकाशित गरी योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको थियो।
गाउँपालिकाको प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि–२०८२ अनुसार शैक्षिक योग्यता, तालिम, अनुभव, विद्यार्थीको नतिजा लगायतका आधारमा छनोट गरिएको गाउँपालिकाले जनाएको छ।
खुल्ला प्रतिष्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने निर्णयलाई शिक्षा क्षेत्रमा पारदर्शिता, प्रतिस्पर्धा र गुणस्तरीय नेतृत्व विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
बाह्रदशीका कक्षा १२ सम्म पढाइ हुने ३ ठूला विद्यालयका प्रधानाध्यापकहरूमा पशुपति माविमा गुणनिधि लुइटेल, गौरीशंकर माविमा लेखनाथ कटुवाल र फूलबारी माविमा कुमार दाहाल रहेका छन्।
यस्तै अन्य विद्यालयहरूमा जनविकास माविमा सुपेन राजवंशी, पञ्चमणी माविमा धनमाया देवी पौडेल, अमृत माविमा डुमेश्वर झा प्रधानाध्यापक नियुक्ति भएका छन्।
यस्तै भगवती आधारभूत विद्यालयमा घनश्याम उप्रेती, पशुपति आधारभूत विद्यालयमा सरोजा अर्याल, जनता विद्यालयमा लालबहादुर थापा, सुन्दरपुर विद्यालयमा सुपाल राजवंशी, साधुपर्ती विद्यालयमा टंकप्रसाद सापकोटा, राधानगर विद्यालयमा लोकबहादुर कार्की, घोडामारा विद्यालयमा तुलाराम निरौला, कटहरडाँगी आधारभूत विद्यालयमा शिवप्रसाद पोखरेल र रामनगर आधारभूत विद्यालयमा नरेश बराल रहेका छन्।प्रतिदिनबाट






