काठमाडौं, २५ असार २०८३ । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालसहितका ‘भीआईपी’ हरूले सम्पत्ति छानबिन आयोगमा सम्पत्ति विवरण बुझाएका छन् ।
सम्पत्ति विवरण बुझाउनेमा तत्कालीन प्रधानमन्त्री केपी ओलीका सल्लाहकारसमेत छन् । ‘पूर्वप्रधानसेनापति कटवालसहित आज केही भीआईपीहरूबाट सम्पत्ति विवरण प्राप्त भएको छ । उहाँहरूले आयोगको निर्धारित फाराममा पाइपाई गरेर तीनपुस्ते हिसाब देखाउनुभएको छ,’ आयोग स्रोतले भन्यो ।
आयोग स्रोतका अनुसार बिहीबार (असार २५) पूर्वप्रधानसेनापति कटवाल, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन प्रधानमन्त्री केपी ओलीका सल्लाहकार विष्णु रिमाल, ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, एमालेका पूर्वउपाध्यक्ष एवम् पूर्वमन्त्री युवराज ज्ञवालीलगायतले सम्पत्ति विवरण बुझाएका छन् ।
यसअघि एमालेका नेता ईश्वर पोखरेल र रघुजी पन्तले पनि विवरण बुझाइसकेका छन् । आयोगमा सुरक्षा निकायतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रायः सबै प्रमुखहरूले सम्पत्ति विवरण बुझाइसकेका छन् ।
पूर्वप्रधानसेनापतिसहितका ‘भीआईपी’हरूले १२ पन्ने विवरण शिलबन्दी गरेर आयोगमा बुझाएको स्रोतले बतायो ।
बिहीबारसम्म करिब १४ हजार हाराहारीमा सम्पत्ति विवरण पेस भएको छ । आयोगले विवरण बुझाउन तोकेको असार मसान्तसम्मको समय सीमा सकिन एक साता मात्र बाँकी छ । आयोगले अनुसन्धानका लागि सम्पत्ति विवरणको फाइल खोलिसकेको छ ।






