Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

झापा, १९ असार २०८३ । झापाको मेचीनगर नगरपालिका–१४, दुवागढीमा शुक्रबार बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार बिहान करिब १०ः४५ बजे स्थानीय चुडामणि गुरागाईको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा विद्युत् सर्ट भई आगलागी भएको हो।

आगलागीबाट घरभित्र रहेका सुन, चाँदी, नगद, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा तथा अन्य घरायसी सामानसहित घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाबाट करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनामा कुनै मानवीय वा चौपायाको क्षति भने भएको छैन।

स्थानीयवासी, नेपाल प्रहरी तथा मेचीनगर नगरपालिकाका दुई वटा दमकलको सहयोगमा आगो बिहान ११ः४० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया