झापा, १८ असार २०८३। झापाको हल्दिबारी गाउँपालिका–२, कलाधर बस्तीस्थित हल्दिबारी–बिर्तामोड भित्री पक्की सडक छेउको जोतिएको खेतको हिलोमा एक पुरुष साइकलसहित मृत अवस्थामा फेला परेका छन्।
आज बिहान करिब ५ः२० बजे स्थानीयवासीले खेतको हिलोमा एक पुरुष अनुहार गाडिएको अवस्थामा साइकलसहित मृत फेला परेको जानकारी प्रहरीलाई दिएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हल्दिबारीबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको थियो।
प्रहरीका अनुसार मृतकको पहिचान बिर्तामोड नगरपालिका–९ निवासी ४९ वर्षीय होमप्रसाद सुवेदीका रूपमा भएको छ। मृतकको पहिचान उनकी विवाहित छोरी हल्दिबारी गाउँपालिका–२ निवासी योगमाया सुवेदी भट्टराईले गरेकी हुन्।
प्रहरीले घटनास्थल सुरक्षित राखी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






