काठमाडौँ, १७ असार २०८३ । नेपाल सरकारका पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ । नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको र सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको भन्दै काउन्सिलले कारबाहीका लागि बुधबार उजुरी दर्ता गराएको हो ।
काउन्सिलले भोटाहिटीस्थित साइबर ब्युरोमा दिएको उजुरीमा उपाध्यायले आफ्नो प्रमाणित फेसबुक प्रोफाइलबाट असार १६ गते डा. दिपेन्द्र पाण्डेको तस्विर अनधिकृत रूपमा प्रयोग गरी भ्रामक र निन्दनीय पोस्ट गरेको जिकिर गरिएको छ । उक्त पोस्टमा उपाध्यायले ‘नक्कली डाक्टर भन्दै आरोप लगाई प्रहरीमा जाहेरी दिने र ७ दिन हिरासतमा राख्ने प्रपञ्च गर्ने’ भन्दै निमित्त रजिष्ट्रार र काउन्सिलका अन्य पदाधिकारीविरुद्ध गालीगलौज गरेको दाबी गरिएको छ।
नेपाल मेडिकल काउन्सिलका अनुसार, काउन्सिलमा दर्ता नभएका व्यक्तिहरूले एलोप्याथी औषधि लेख्ने र रेडियोलोजिष्टले गर्ने एमआरआई जस्ता विशेषज्ञ कार्यहरू गरेको उजुरी परेपछि काउन्सिलले छानबिन गरेको थियो । सो छानबिनका आधारमा दोषी देखिएका व्यक्तिहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको र उक्त विषय हाल अदालतमा समेत परीक्षण भएको छ ।
काउन्सिलले आफ्नो नियमित नियमनकारी र कानुनी प्रक्रिया अन्तर्गत गरेको कार्यलाई पूर्वसचिव उपाध्यायले व्यक्तिगत रिसइबीको रूपमा चित्रण गर्दै साइबर बुलिङ गरेको उजुरीमा उल्लेख छ।






