झापा, १७ असार २०८३। जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरी सम्बन्धित अदालतमा उपस्थित गराएको हो।
प्रहरीका अनुसार सवारी ज्यान मुद्दामा तीन महिना कैद र २०० रुपैयाँ जरिवाना तोकिएका झापा गाउँपालिका–४ का ४७ वर्षीय अव्दुल हकिम मिया तथा लागूऔषध मुद्दामा तीन महिना कैद र २०० रुपैयाँ जरिवाना तोकिएका मेचीनगर नगरपालिका–३ का २६ वर्षीय अनिल दनुवारले अदालतले तोकेको जरिवाना तथा अन्य प्रक्रिया पूरा गरेपछि छुटेका छन्।
यस्तै, लागूऔषध मुद्दामा नौ महिना २० दिन कैद सजाय तोकिएका कमल गाउँपालिका–५ का २३ वर्षीय मनिष मगरलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
इलाम जिल्ला अदालतको फैसला अनुसार सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना तीन दिन कैद तथा दुई हजार रुपैयाँ जरिवाना तोकिएका इलामको चुलाचुली गाउँपालिका–५ का ३० वर्षीय लक्ष्मण फागोलाई पनि पक्राउ गरी कारागार चलान गरिएको छ।
त्यसैगरी, लागूऔषध मुद्दामा सजाय तोकिएका कन्काई नगरपालिका–४ का २९ वर्षीय नबिन रसाइलीलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएपछि तोकिएको प्रक्रिया पूरा गरेर रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






