झापा, १६ जेठ २०८३ । झापाको कन्काई नगरपालिका–५ चप्रामारी क्षेत्रमा धारिलो हतियार प्रहार गरी एक व्यक्ति गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ः१० बजे बाह्रदशी गाउँपालिका–७ बस्ने अन्दाजी ३० वर्षीय सूर्यलाल राजवंशीलाई पूर्व रिसिवीका कारण बाटोमा हिँडिरहेको अवस्थामा कन्काई–५ तुलसीबारी बस्ने अन्दाजी २५ वर्षीय दीपक विष्टले दाउ प्रहार गरेका थिए।
दाउ प्रहारबाट राजवंशी गम्भीर घाइते भएका छन्। उनलाई तत्काल कन्काई नगर अस्पताल, सुरुङगामा उपचारका लागि लगिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनलाई बी एण्ड सी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट दाउसहित आक्रमणकारी दीपक विष्टलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका विष्टलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






