झापा, १६ जेठ २०८३ । झापाको मेचीनगर नगरपालिका–८ जोरसिमलस्थित महेन्द्र राजमार्ग नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ करिब ५ः३० बजे महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल जमिनमा अन्दाजी ३५ देखि ४० वर्ष उमेरका पुरुष उत्तानो परेको अवस्थामा मृत भेटिएका हुन्। मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






