झापा, ३ जेठ २०८३ । झापाको गौरादह नगरपालिका–२ सिटिया टोलस्थित बाटो छेउको पैनीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।
मोरङको पथरी शनिश्चरे नगरपालिका–५ मौलीबारी स्थायी घर भई हाल विगत सात वर्षदेखि गौरादह–२ लोदावारीमा छोरी सविना हस्दाको घरमा बस्दै आएका ६० वर्षीय बाबुराम हस्दा पैनीमा घोप्टो परी लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए।
स्थानीय चक्रबहादुर राई र शिरुलाल ताजपुरियालगायतले उनलाई जीवित छन् कि भनेर तत्काल पैनीबाट बाहिर निकाली जाँच गर्दा मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि उर्लाबारी मंगलबारे अस्पताल मोरङ पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






