न्युयोर्क, २ जेठ २०८३ । विश्वभरका सेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता थपिँदै जाँदा अमेरिकीसहित विश्वका प्रमुख सेयर बजार दबाबमा परेका हुन् ।
विशेष गरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीको सेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाको एसएन्डपी ५०० सूचकांक अघिल्लो दिन बनाएको ऐतिहासिक उच्च विन्दुबाट करिब १.२ प्रतिशतले घटेको छ । डाउ जोन्स औद्योगिक सूचकांक ५३७ अंकले ओरालो लागेको छ । नास्डाक सूचकांक करिब १.५ प्रतिशतले घटेको छ ।
पछिल्ला महिनामा कृत्रिम बुद्धिमत्ता प्रविधिप्रति बढेको उत्साहका कारण तीव्र उकालो लागेको प्रविधि कम्पनीको सेयरमा अचानक गिरावट आएपछि बजार अस्थिर बनेको हो ।
कृत्रिम बुद्धिमत्ता क्षेत्रको प्रमुख कम्पनीका रूपमा चिनिएको एनभिडियाको सेयर मात्र ४.४ प्रतिशतले घटेको छ । यद्यपि, यो वर्ष हालसम्म उक्त कम्पनीको सेयर मूल्य २६ प्रतिशतभन्दा बढीले बढिसकेको थियो ।
यस्तै, माइक्रोन टेक्नोलोजीको सेयर ६.६ प्रतिशतले घटेको छ । यस वर्ष यो कम्पनीकोसेयर मूल्य अझै पनि करिब १५४ प्रतिशतले माथि छ ।
विश्लेषकले बजार अत्यधिक बढेको अवस्थामा पुगेकाले केही समयको गिरावट स्वाभाविक भएको बताएका छन् । बलियो अमेरिकी अर्थतन्त्र र कम्पनीको राम्रो आम्दानीले बजारलाई उच्च विन्दुसम्म पुर्याए पनि आउँदा दिन सहज नहुने चेतावनी दिइएको छ ।
यसबीच पश्चिम एसियामा जारी युद्धका कारण तेलको मूल्य निरन्तर बढिरहेको छ । विशेष गरी इरानसँगको द्वन्द्व लम्बिँदै जाँदा विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्ग होर्मुज बन्द रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल आपूर्ति प्रभावित भएको छ । तेल ट्यांकरहरू आवतजावत गर्न नसक्दा विश्वभर तेलको मूल्य बढेको र त्यसले मुद्रास्फीतिको दबाब थप बढाएको विश्लेषण गरिएको छ ।
तेलको मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको र त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको जनाइएको छ ।रासस/एपी





