काठमाडौं, ८ मंसिर २०८२ । मलेसियाले अंग्रेजी नयाँ वर्षदेखि १६ वर्षभन्दा कम उमेरका बालकालिकालाई सामाजिक सञ्जाल पहुँचमा रोक लगाउने तयारी थालेको छ ।
बालबालिकाको अनलाइन सुरक्षा चिन्ताको विषय बनेको भन्दै सरकारले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन थालेको हो ।
सञ्चारमन्त्री फहमी फाजिलले पहुँच प्रतिबन्धसम्बन्धी योजना कार्यान्वयन गर्न अस्ट्रेलिया तथा अन्य देशका मोडेलबाट अध्ययन गरिरहेको बताएका छन् ।
फाजिलले आगामी वर्षदेखि सामाजिक सञ्जाल प्लेटफर्मले सरकारी निर्णयको पालना गर्दै १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई नयाँ खाता खोल्न नदिने आशा गरेको बताए । सरकार, सामाजिक सञ्जाल संस्था र अभिभावकले आ–आफ्नो जिम्मेवारी निभाएमा इन्टरनेट मात्र नभई बच्चाका साथै परिवार पनि सुरक्षित हुने बताए ।
पछिल्ला केही वर्षमा बढ्दो साइबर अपराधका कारण मलेसियाले सामाजिक सञ्जालमा निगरानी बढाएको छ । जनवरीदेखि मलेसियाका ८० लाखभन्दा बढी प्रयोगकर्ता भएका सोशल मिडिया प्लेटफर्मले अनिवार्य लाइसेन्स लिनुपर्ने नियम बनाइएको छ ।
गत महिनामा त्यहाँका अधिकांश सांसदले उमेरजन्य सीमाको प्रस्तावलाई समर्थन गर्दै प्रयोगकर्ताको उमेर प्रमाणित गर्न ठोस प्रणाली हुनुपर्ने माग गरेका थिए । त्यस्तै, सेप्टेम्बरमा गरिएको एक सर्वेक्षणमा ७२ प्रतिशत मानिसले सामाजिक सञ्जालमा बालबालिकाको पहुँचमा प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए ।
मलेसिया मात्रै होइन, यस्तो नियम विश्वका धेरै देशमा लागु हुने तरखरमा छ । अस्ट्रेलियाले पनि १० डिसेम्बरदेखि १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई सामाजिक सञ्जालबाट हटाउने नियम लागु गरिरहेको छ ।
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन पनि सोही प्रकृतिको कानुन ल्याउने तयारीमा छन् । नेदरल्यान्ड्सले अभिभावकलाई १५ वर्षभन्दा कम उमेरका बालबच्चालाई टिकटक र स्न्याप च्याटजस्ता एप प्रयोग गर्न नदिन सल्लाह दिएको छ ।
यसैबीच, फ्रान्स, डेनमार्क, ग्रीस, इटली र स्पेनले संयुक्त रूपमा बालबालिकाको उमेर जाँच गरी हानिकारक सामग्रीबाट उनीहरूलाई टाढै राख्नने एपको परीक्षण गरिरहेका छन् ।






