Online Bichar
बिहिबार, भाद्र ११, २०८३ | Thursday, August 27, 2026

दाङ, १ असार २०८२ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।

मन्त्री कार्कीका अनुसार कुल बजेटमध्ये १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ अर्थात् ३०.८८ प्रतिशत चालू खर्चका लागि र २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ अर्थात् ६०.३२ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।

त्यसैगरी, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८.८० प्रतिशत रकम छुट्टाइएको छ।

‘समृद्ध लुम्बिनी खुसी नागरिक’ भन्ने दीर्घकालीन दृष्टिकोणसहित ल्याइएको बजेटले उत्पादनमा आधारित आर्थिक वृद्धि, सामाजिक न्याय, समावेशी विकास, रोजगारी सिर्जना तथा गरिबी र आर्थिक असमानता घटाउने लक्ष्य लिएको छ।

बजेटमा कृषिको उत्पादन र उत्पादकत्व वृद्धिसँगै गुणस्तरीय शिक्षा, पहुँचयुक्त स्वास्थ्य सेवा, उद्यमशीलता विकास, दिगो पूर्वाधार निर्माण लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ। सरकारले उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नका लागि नीतिगत सुधार र प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

 

तपाईको प्रतिक्रिया