Online Bichar
शुक्रबार, मंसिर १२, २०८३ | Friday, November 27, 2026

१२, वैशाख २०७८
नयाँदिल्ली — भारतमा कोरोना संक्रमणको ‘सुनामी’ देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ४९ हजार ६ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । तीन लाखभन्दा बढी संक्रमित थपिएको लगातार चौथो दिन हो ।

त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ७ सय ६७ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९२ हजार ३ सय ११ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ६९ लाख ६० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४० लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख ८२ हजारभन्दा बढी छ ।

भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ७४ हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ भने ७ सय ७३ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ७२ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ४८ जनाको मृत्यु भएको छ । दिल्लीमा गएको संक्रमण विस्फोटक ढंगले बढ्न क्रमसँगै अक्सिजन र बेडको नपाएर संंक्रमितहरुको बिचल्ली भएको छ । रेम्डेसिभिरलगायत औषधिको चरम अभाव देखिएको छ । पछिल्ला दिनमा संक्रमित हुने र निको हुने संख्याबीचको फरक पनि बढ्दै गएको छ ।

भारतमा देखिएको कोरोनाको पछिल्लो लहरलाई दिल्ली उच्च अदालतले त ‘सुनामी’ को संज्ञा दिएको छ । अदालतले जेठको पहिलो साता (मे मध्यमा) महामारी उच्च बिन्दुमा भन्दै त्यसका लागि के–कस्तो प्रबन्ध गरिएको छ भनेर सरकारलाई प्रश्न पनि सोधेको छ । ‘मे महिनाको मध्यमा महामारी उच्च बिन्दुमा पुग्दै छ । यो वास्तवमा सुनामी हो । हामीहरुले कसरी क्षमता बढाउँदै छौं ? त्यो परिस्थितिका लागि अहिलेको मितिमा कसरी तयारी गरिरहेका छौं ?’ अदालतले भनेको छ ।

इन्डियन इन्स्टिट्युट अफ टेक्नोलोजी, कानपुरले गरेको प्रक्षेपणमा जेठ पहिलो साता महामारीको दोस्रो लहर उच्च बिन्दुमा पुग्ने देखाएको छ । प्राध्यापक मनिन्द्र अग्रवालको टोलीले अमेरिका, इटाली र भारतको महामारीसम्बन्धी हालसम्म उपलब्ध तथ्याकंमा आधारित भएर उक्त प्रक्षेपण गरेको हो ।

पछिल्लो लहर सुरु भएसँगै दिल्लीलगायत महाराष्ट्र, उत्तरप्रदेश, केरला, कर्नाटक, गुजरात राज्यमा संक्रमण भयावह बनेको छ । पछिल्लो एक दिनमा उत्तरप्रदेशमा २२ हजार ५ सय ६६ र छत्तीसगढमा १५ हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा शनिबारसम्ममा १४ करोड ९ लाख १६ हजारभन्दा बढीले खोप लगाएका छन् ।आगामी १ मेदेखि अठार वर्षमाथिका सबै उमेर समूहका लागि खुला गरिएको छ । भारतमा १६ जनवरी देखि खोप अभियान सुरु गरिएको हो । गत १ अप्रिलदेखि ४५ वर्षमाथि उमेरका लागि खोप उपलब्ध हुँदै आएको थियो । तर, कोरोना महामारी नियन्त्रणका लागि खोप अभियान पर्याप्त नभएको भन्दै मोदी सरकारको आलोचना भएपछि उमेर समूह घटाइएको हो ।कान्तिपुरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments