गौरीगंज, ४ कार्तिक । गौरीगंज-६ स्थित आठमौजा बचत तथा ऋण सहकारी संस्थामा दूध बिक्री गर्ने किसानलाई संस्थाले बोनस बितरण गरिएको छ। संस्थाले कृषकहरुबाट उत्पादित दूध संकलन गर्दा किसानहरुलाई राहात स्वरुप बोनस दिएको संस्थाका ब्यबस्थापक नगेन्द्र कुमार ढकालले जानकारी गराए।
किसानहरुले दूध बिक्रीको आधारमा न्युनतम १ हजार देखि अधिकतम १० हजार सम्म बोनस पाएका छन। संस्थाले पहिलो चरणमा ५६ जना कृषकलाई बोनस बितरण गरिएको र दोस्रो चरणमा ६५ जना किसानलाई बोनस बितरण गरिने संस्थाका अध्यक्ष अर्जुन दंगालले जानकारी गराए।
संस्थाले अबलंबन गरेको स्वाबलम्बन तरकारी खेती कार्यक्रम अन्तर्गत सदस्यहरुलाई खुर्सानी र टमाटरमा आत्मानिर्भर बनाउन उन्नत जातको बेर्ना बितरण गरेको छ।संस्थाले सेयर सदस्य किसानलाई बेर्ना उत्पादन गर्ने सीप हाँसिल गराउन तालिम दिई किसानहरुबाट उत्पादन गरिएका बेर्ना संस्थाले खरिद गरि किसानहरुलाई निशुल्क बितरण गरेको छ। किसानहरुले उन्नत प्रबिधिबाट उत्पादन गरेको बेर्ना पहिलो चरणमा सय जनालाई र दोस्रो चरणमा सय जनालाई बितरण गर्ने अध्यक्ष दंगालले बताए।

सोहि अवसरमा सेयर सदस्य मृतक राहात समेत बितरण गरिएको छ।गत साउन महिनामा निधन भएका संस्थाका सेयर सदस्य हरदेब प्रसाद सिंह राजवंशीको परिवारलाई मृतक राहात रकम बितरण गरिएको हो।संस्थाका अध्यक्ष दंगालले मृतककी श्रीमती इन्दीरामणी राजवंशीलाई राहात स्वरुप नगद ११ हजार हस्तान्तरण गरेका हुन।संस्थाका अध्यक्ष अर्जुन दंगालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।






