Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठमाडौं,  १०  साउन  ।  अविरल वर्षासँगै आएको बाढीले कृषितर्फ साढे ८१ करोड रुपैयाँ बराबरको क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म प्रदेश १ को मात्रै क्षतिको विवरण संकलन गरेको छ। प्रदेश २,३,४ र ५ को क्षतिको विवरण संकलन भइरहेको छ। प्रदेश ६ र ७ मा क्षति नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार बाढी र पहिरोका कारण प्रदेश १ को बालीतर्फ १४ जिल्लामा ८१ करोड २८ लाख ९२ हजार र सोही प्रदेशका ६ जिल्लामा पशुपन्छीतर्फ २५ लाख ८० हजार रुपैयाँ गरी ८१ करोड ५४ लाख ७२ हजार रुपैयाँबराबरको क्षति भएको हो। बाढीका कारण सबैभन्दा बढी प्रदेश २ मा क्षति पुगेको मन्त्रालयको प्रारम्भिक अनुमान छ। धानको बिउ, माछा, धानबाली, कुखुरा र तरकारीबाली बाढीले बगाएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका उपसचिव गंगा आचार्यका अनुसार सुक्खाका कारण पनि बालीमा नोक्सानी भएको थियो। बाढी, पहिरो र सुक्खाका कारण १० हजार ६ सय ८२ हेक्टरमा लगाइएको बाली नष्ट भएको छ। प्राकृतिक प्रकोपले कृषितर्फ दुई हजार चार सय २२ जना किसान र पशुपन्छीतर्फ २४ जना किसानले प्रत्यक्ष रूपमा क्षति व्यहोरेको मन्त्रालयले जनाएको छ।

भेलले मकै, तरकारी, केरा, धान, चैते धान, अलैंची, गाई, सुँगुर, बाख्रा, कुखुरा र रेन्बो ट्राउटतर्फ क्षति भएको हो। अन्य प्रदेशको पनि क्षतिको विवरण संकलन गर्ने कार्य जारी छ।

पशुपन्छीतर्फ पाँचथरमा १० लाख, मोरङमा सात लाख, सुनसरीमा चार लाख ८० हजार, ओखलढुंगामा दुई लाख र तेह्थुमा दुई लाख रुपैयाँबराबरको क्षति पुगेको छ। यस्तै बालीतर्फ खोटाङमा एक करोड १५ लाख ३७ हजार, सुनसरीमा चार करोड आठ लाख, मोरङमा आठ करोड ७४ लाख ५० हजार, झापामा ७१ लाख, भोजपुरमा ६६ करोड ४८ लाख र पाँचथरमा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments