गौरादह, १० साउन । चुडाल खरिद बिक्रि केन्द्र गौरादहले किसानहरुलाई मकै खेती तर्फ आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरेको नमुना प्रर्दशनी मकै खेतीमा उत्कृष्ट किसानलाई सम्मान गरेको छ । उद्यमी कृषि सहकारी संस्थाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि ३ जना किसानलाई सम्मान गरेको छ ।
हाइब्रेड मकै प्रवद्र्धन तथा बजारीकरण कार्यक्रममा किसानहरुलाई मकै बाली लगाउन प्रोत्साहन गर्दै वडा नं. १, २ र ७ मा मकै उत्पादन क्षेत्र निर्धारण गरि प्रतिकठ्ठा बढि मकै फलाउने धनकुमारी कट्वाल, मदन रिजाल र उद्यमी कृषि सहकारी संस्थालाई दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरेको छ । त्यसअवसरमा किसानहरुलाई स्प्रे टयाङ्की हस्तान्तरण गरेको थियो । धनकुमारी कट्वालले एक कठ्ठामा १२ मन, मदन रिजालले १० मन र उद्यमी कृषि सहकारी संस्थाले ९ मन मकै फलाएका थिए ।

गत असोज महिनाबाट किसानहरुलाई मकै बाली लगाउन विभिन्न प्रकारका तालिम दिंदै मकैको बिउ वितरण गर्दै आएको चुडाल खरिद बिक्रि केन्द्रले किसानहरुको मकै उचित मूल्य दिई खरिद समेत गरेको थियो । त्यसका लागि ३ वटा वडामा १७ जना किसानलाई छनौट गरि नमुना मकै खेती लगाउन लगाएको थियो । किसानहरुले फलाएको मकैलाई हारवेष्ट सम्बन्धि प्राविधिक सेवा समेत दिईएको थियो ।
चुडाल खरिद बिक्रि केन्द्रका प्रोपाइटर अशोक चुडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. १ का अध्यक्ष नगेन्द्र भण्डारी प्रमुख अतिथि रहेका थिए । त्यसअवसरमा मकै खेतीका सहजकर्ता दिपक बहादुर बिष्ट, उद्यमी कृषि सहकारी संस्थाका अध्यक्ष भुपराज लुईंटेल, वडा नं. १ को वडा सदस्य देवीमाया श्रेष्ठ, पुरस्कृत किसानका तर्फबाट मदन रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन विसन बस्नेतले गरेका थिए ।






