विराटनगर, ७ साउन । मोरङमा जनप्रतिनिधि नै हत्याका घट्नामा मुछिन थालेका छन्। घटनामा मुछिएका तीन वडाध्यक्ष अहिले फरार छन्। जनप्रतिनिधिनै ज्यान मुद्दामा संलग्न हुँदै फरार हुँदा कार्यालयको काम प्रभावित बनेको छ। जनप्रतिनिधि प्रति नागरिकको विश्वाससमेत गुम्न थालेको छ।
विराटनगर महानगरपालिका १४ का वडाध्यक्ष बलदेव यादव, विराटनगर १८ का सञ्जय यादव र जहदा गाउँपालिका १ का अध्यक्ष प्रदीप यादव फरार छन्। उनीहरुविरुद्ध विराटनगर १४ का समानन्द यादवको हत्यामा संलग्न भएको भन्दै मोरङ जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ। तीन वडाका अध्यक्षसमेत उपस्थित स्थानमा जेठ ३२ गते यादवमाथि निर्घात कुटपिट भएको थियो। कुटपिटपछि गम्भीर घाइते उनको मृत्युपछि पीडित परिवारले तीनजना वडा अध्यक्षसहित ९ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।
छोराले बिहे नगरेको भन्दै वडाध्यक्षको रहोबरमा भएको कुटपिट पछि उपचारको क्रममा यादवको मृत्यु भएको परिवारको दाबी छ। यादवको मृत्यु भएपछि तीनै जना वडाध्यक्षहरु फरार भएकाले घटनामा उनीहरुकै संलग्नता रहेको प्रष्ट देखिने प्रहरीको समेत तर्क छ।
उनीहरुको खोजी भइरहेको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए। मृतकका आफन्तले विजय यादव, दिनेश यादव, भोला यादव, वडाध्यक्ष बलदेवका छोरा रविशंकर यादव, दिपेश यादवविरुद्ध पनि जाहेरी दिएका छन्। उनीहरु पनि फरार छन्। सुरुमा उक्त घटनालाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान सुरु गरे पनि घाइतेको मृत्युपछि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको एसपी अधिकारीको भनाइ छ।
कर्तव्य ज्यान सम्बन्धी फैजदारी अभियोग लागेका जनप्रतिनिधि स्वतः निलम्बन हुने प्रावधान रहेको कानुनविद्ध बताउँछन्। तर उनीहरु भने अहिलेसम्म निलम्बनमा परेका छैनन्। विराटनगर महानगरपालिका कानुनी सल्लाहकार प्रमेश्वर नेपालले गम्भिर फौजदारी मुद्दा लागेका जो कोही कर्मचारी वा जनप्रतिनिधि स्वतः निलम्बन हुने बताए। अदालतले निर्दोष सावित गरेर पुनःबहाली हुने कानुनी प्रावधान रहको छ। नत्र उनीहरु स्वतः निलम्बन हुन्छन्।
वडाध्यक्ष नै फरार भएपछि वडामा कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वडाको काम काज सञ्चालन भइरहेको छ। मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले वडाध्यक्षहरुले प्रयोग गरिने मोबाइलसमेत बन्द रहेको बताए। राजनीतिक पहँुच भएका वडाध्यक्षलाई कारबाहीको दायरामा प्रहरीले ल्याउन नसकेको पीडित परिवारको आरोप छ। तीनैजना वडाध्यक्ष संघीय समाजवादी पार्टीबाट निर्वाचित हुन्।अन्नपूर्ण






