काठमाडौं, ५ साउन । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सम्पन्न भएको छ । आइतबार उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललिपुरमा सम्पन्न भएको हो ।
आज सम्पन्न भएको बैठकले विभिन्न निर्णय गरेको छ । आजको बैठकले ७ वटै प्रदेशका १२ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम श्रावण १६ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै डा। जगदीश चन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समितिको गठन गरिएको छ । समितिको सदस्यहरुमा डा।आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा रहेका छन् ।
तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति पनि गठन गरिएको छ । समितिको सदस्यहरुमा भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन रहेका छन् । खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा सुभाष पोखरेल, डा। प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल रहेका छन् । साथै आजकै बैठकले नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय पनि गरिएको छ ।






