गौरादह, २७ असार । महिलाहरुलाई रोजगारीका अवसर सिर्जना गराई आयआर्जन गराउने उद्देश्यले माला तथा ब्याज बनाउने तालिम सञ्चालन गरिएको छ । गौरादह नगरपालिकाको आर्थिक सहयोगमा महिला तथा बालबालिका शाखाले असार २३ गते देखि आयोजना गरेको ५ दिने तालिम सम्पन्न भएको छ । तालिममा वडा नंं. ७ र ८ भित्रका २८ जना महिलाहरु सहभागी भएका थिए ।
ग्रिन नेपाल ब्याग उद्योग दमकका नन्दलाल पाण्डे र हिृदय कुमारी संग्रौलाले सहभागीहरुलाई फ्रेबिकबाट माला र ब्याज बनाउने तरिका सिकाएका थिए । तालिममा सहभागी लता खरेलले वातावरण मैत्री फ्रेबिकको माला र ब्याज बनाउने सिप हासिल भएकाले यसलाई व्यवसायिक बनाउने धारणा व्यक्त गरिन् । तालिमको समापनको अवसरमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

गौरादह नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मिरा भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख गिता भेट्वाल प्रमुख अतिथि रहेकी थिइन् । त्यसअवसरमा वडा नं. ७ का वडाध्यक्ष बलराम खरेल, प्रशासकिय अधिकृत सागर मिश्र, कार्यपालिका सदस्यहरु देवीमाया श्रेष्ठ, अम्बिका भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यपालिका सदस्य जलवर्षा राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रममा महिला विकास समिति सचिव सुस्मा भण्डारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।






