झापा, २७ असार । तीन दिन देखिको लगातार वर्षाको कारण झापाका केही स्थान डुबानमा परेका छन् भने अधिकांश क्षेत्र डुबान हुने अवस्थामा पुगेका छन् । बुधवारबाट परेको अविरल वर्षाका कारण ग्रामीण तथा शहरी क्षेत्रमा समेत डुबान हुन थालेको छ ।
स्थानीय रतुवा खोलाले बाँध भत्काएर बस्ती प्रवेश गरे पछि गौरादह नगरपालिका वडा नम्बर ५ र ६ का स्थानीय विस्थापित भएको मेयर रोहित कुमार शाहले जानकारी दिनुभयो । उहाँले बाढीका कारण मानवीय क्षति नभए पनि पशुचौपाय र धानवालीमा असर पुगेको जानकारी दिनुभयो ।
त्यसै गरी झापाको दक्षिणी क्षेत्रका केचना, घेराबारी, गौरीगञ्जलागायका ठाउँमा हल्का डुबान भए पनि कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अहिलेसम्म बाढी गाउँमा नपसे पनि पस्ने अवस्थामा पुगेको रेडक्रस झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो । कनकाई नगरपालिका–६ को एक घरमा पानी पसेको ढकालले जानकारी दिनुभयो ।
लगातारको वर्षपछि स्थानीय नदीहरूमा बाढी आएको छ,भने नदीले कटान सुरु गरेको छ । मेची, निन्दा, हँडिया, टिमाई, बिरिङ, कनकाई र रतुवा लगायत खोलामा आएको बाढीले कटान तीव्र बनाएको स्थानीयले बताए । बिरिङ खोला र कनकाई नदी फुटेर बस्तीमा पसेमा ठुलो मानवीय क्षति हुने भन्दै स्थानीय त्रसित बनेका छन् ।न्यूज२४






