गौरादह, २३ असार । गौरादह नगरपालिका भित्र रहेका सडक सञ्जालहरु विस्तार भइरहँदा बिजुलीका पोलहरु सडक विस्तारको बाधक बनेका छन् । नगरको दुर्गम स्थानसम्म यातायातका साधनहरु सुचारु गराउन विकासको पूर्वाधारको रुपमा रहेको सडकको चौडा गर्ने कार्य गरिरहँदा बिजुलीका खम्बाहरु सडकमा परेका छन् ।
गाविस छँदा बनेका सडकहरुको चौडा साँघुरो भएको कारण नगरपालिका घोषणा भएसँगै सडक सञ्जालहरु विस्तार गर्न थालिएको छ । सडक विस्तार गर्दा सडकको छेउमा गाडिएका बिजुलीका पोलहरु सडकको बिचमा परेका छन् । जनसंख्याको वृद्धि र बढ्दो सवारीका साधनहरुलाई सहज रुपमा आवतजावत गर्न सडकको चौडा बढाउने क्रममा पुरानो संरचनाका आधारमा राखिएका बिजुलीका खम्बाहरु सडकको बिचमा पर्दा खम्बा सार्न सम्बन्धित निकायले खासै चासो देखाएको छैन ।पुरानो संरचनामा १६ फिट चौडा रहेका सडकहरुलाई अहिले विस्तार गरि ३० फुट देखि ५० फिट सम्म चौडा बनाउन थालिएको छ ।
सडक विस्तार र स्तरीय ग्राभेल गरिंदा सवारी आवतजावतमा सहजता भएपनि सडकमा नै बिजुलीका खम्बा रहेका कारण दुर्घटना हुन सक्ने गौरादह–२ का मित्र बहादुर बताउँछन् । स्थानीय सरकारबाट सडक विस्तार र पानीको बेग रहने ठाउँमा सडक उच्चा बनाउँदा बिजुलीको नाँगो तारमा ठूला सवारीका साधनहरु ठोकिनुका साथै दुर्घटनाको जोखिम बढेको गौरादह–७ का छविलाल सिटौला बताउँछन् ।

सडकमा परेका बिजुलीका पोलहरु समयमा नै हटाई सवारी आवागमनमा सहज बनाउन विद्युत प्राधिकरण र नगरपालिकाले चासो नदेखाएका कारण काममा ढिलाई हुन पुगेको स्पष्ट देखिन्छन् । सडकमा परेका पोल सार्न बजेट अभावका कारण ढिलाई भएको नगरप्रमुख रोहित कुमार शाह बताउँछन् । नगरभित्रका बिजुलीका पोलहरु अधिकांश सडकमा परेका र स्टमेट अनुसार ठूलो धनराशी खर्च हुने भएकाले अव्यवस्थीत पोलहरु सार्न विद्युत प्राधिकरणलाई पटक–पटक जानकारी गराउँदा समेत चासो नदेखाएको प्रमुख शाह बताउँछन् ।
विद्युत पोल सार्नका लागि नगरपालिकाले ९ लाख रुपैयाँ विनियोजित गरेको शाहले बताए ।
अव्यवस्थीत पोलहरु सडक बाहीर सार्न नगरपालिकालाई स्वीकृत नभएको र सम्बन्धित निकायमा जानकारी गराउँदा समेत प्राधिकरणले चासो नदेखाएको नगरपालिकाका इन्जिनयर सचिन कुमार क्षेत्री बताउँछन् । नगरपालिकाले सडकमा रहेका पोलहरु र विद्युत ट्रान्सफर्मरहरु के कति सार्नुपर्ने त्यसको डाटा संकलन गर्ने कार्य भइरहेको इन्जिनयर क्षेत्री बताउँछन् ।
नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोलहरुलाई सरकारी, व्यक्तिगत र प्राइभेट गरि ३ प्रकारमा वर्गिकरण गरेको विद्युत प्राधिकरण गौरादह प्रमुख सरोज शाह बताउँछन् । सडकमा परेका पोलहरु सार्नु परेमा स्थानीय निकायले स्टमेट सहित प्राधिकरणको खातामा रकम जम्मा गर्नुपर्ने शाहले बताए ।

गौरादह नगरपालिकाले पोल सार्न लिखित निवेदन दिएको तर हालसम्म इस्टमेट नदिएको र रकम जम्मा नगरेका कारण पोल सार्न ढिलाई भएको प्रमुख शाह बताउँछन् । नगरपालिका र विद्युत प्राधिकरणले समयमै समन्वय गरि सडकमा रहेका विद्युतका पोलहरु हटाई दुर्घटनाको जोखिम घटाउन आवश्यक छ । त्यसका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।






