गौरादह, १४ असार । ज्येष्ठ नागरिकहरुलार्ई आदर सम्मान सहित भजन कृतन गर्न दिवा सेवा कार्यक्रमको शुभारम्भ भएको छ । गौरादह १ मा रहेको पञ्चेश्वर देवालय मन्दिले ज्येष्ठ नागरिकहरुलाई दैनिक १२ बजेदेखि २ बजेसम्म भजन कृतन गर्ने वातावरण बनाएको छ ।
मन्दिरले २०७१ सालमा भवन निर्माण गर्न आर्थिक संकलन गर्दा महापुराण आयोजना गर्दा ज्येष्ठ नागरिक हेरचाह केन्द्र बनाउने उद्देश्य लिएको थियो । ज्येष्ठ नागरिकहरुलाई दैनिक आनन्दसँग बसेर भजन कृतन गर्ने आवश्यक सामग्रीको व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष लिला कार्की कट्टेलले जानकारी गराइन् । भजन कृतनका लागि आवश्यक पर्ने बाजा, मनोरन्जनका लागि टेलिभिजन र चिया नास्ताको व्यवस्था मिलाईएको अध्यक्ष कार्कीले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभासदस्य दिपक कार्कीले कार्यक्रमको उद्घाटन गर्दै ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नु हामी सबैको दायित्व रहेको बताए । कार्यक्रममा ज्येष्ठ नागरिक संघ जिल्ला अध्यक्ष भवानी दाहाल, नगर अध्यक्ष गोपाल प्रसाद काफ्ले, राधा कृष्ण मन्दिर व्यवस्थापन समिति अध्यक्ष सूर्य प्रसाद गौतम, मन्दिर सल्लाहकार संयोजक टंक प्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका सचिव बलराम अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहसचिव हरि प्रसाद प्रसाइले कार्यक्रम संचालन गरेका थिए ।






