काठ्माडौं, २६ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आजदेखि एनआरएन फ्यामिली कार्डको औपचारिक सुरूआत गरिएको छ।
गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी एनआरएन फ्यामिली कार्डको सुरूआत गरिएको हो।
यो कार्ड संघका पञ्जीकृत सदस्यहरूका नेपालमा बसोबास गर्ने परिवारका बुवा–आमा, श्रीमान्–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने छन्। यद्यपी विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू हुने छैन।
संघले सदस्यलाई सदस्यता बापत केही सुविधा पनि प्राप्त होस् भन्ने हेतुले विभिन्न व्यवसायिक प्रतिष्ठानहरूसँग सहमति गरी ती प्रतिष्ठानले आपूर्ति गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको छ। जस अन्तर्गत ती प्रतिष्ठानले संघका कार्ड धारकहरूलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिनेछन्।
कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरूका परिवारका सदस्यले नेपालभित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरू, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एण्ड टिकट एजेन्सी, सूचना तथा सञ्चारसम्बन्धी क्षेत्र, बैंकिङ क्षेत्र, बीमा, फिटनेश सेन्टर लगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन्। कार्डको म्याद २ वर्षको हुनेछ। त्यस पश्चात कार्ड पुनः नवीकरण गराउनुपर्नेछ ।
यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनु पर्नेछ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस् भनी यो व्यवस्थाको सुरूआत गरिएको बताए।
गैरआवासीय नेपालीहरूको सञ्जाललाई थप बृहत् बनाई उनीहरूले सदस्यता बापत केही प्रभावकारी सेवा सुविधा पाउन सकुन् भनी यो कार्डको व्यवस्था गरिएको उनको भनाइ थियो।






