विराटनगर, २६ बैशाख । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका चालकमध्ये २ हजार ६ सय एकजनाले जिल्ला प्रहरी कार्यालय मोरङमा परीक्षा दिएका छन्। मापसे गर्ने चालकलाई लिखित र अनलाइनमार्फत परीक्षा दिने व्यवस्था मिलाइएको छ। प्रहरीले मापसे गरेर सवारी साधन चलाए अनिवार्य लिखित परीक्षा दिनुपर्ने नियम २०७५ असोज २४ गतेबाट लागू गरेको थियो।
परीक्षा उत्तीर्ण भएपछि मात्रै ट्राफिक नियमअनुसार कारवाही गरेर मापसे गर्ने चालकलाई सवारी साधन र कागजपत्र फिर्ता दिने नियम छ।७ महिनाको अवधिमा मापसे गर्ने २ हजार ६ सय एकजना चालकले लिखित परीक्षा दिएकोमा २ हजार ४ सय ८७ जना उत्तिर्ण भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।
उनका अनुसार मापसे गर्नेमध्ये १ सय १४ जनाले अनलाइनमार्फत परीक्षा दिएका छन्। ति मध्ये ४४ जना उत्तिर्ण भएका छन्। मापसे गरेर सवारी चलाएमा प्रहरीले सवारी साधन र कागजपत्र नियन्त्रणमा लिने गरेको छ। परीक्षामा सहभागी नहुने र परीक्षामा उत्तिर्ण नहुने चालकको कागजपत्र र सवारी साधन प्रहरी नियन्त्रणमै हुने मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।
उनका अनुसार तथ्यांक विश्लेषण गर्दा मापसेका कारण अत्यधिक दुर्घटना हुने गरेको पाइएपछि दुर्घटना न्यूनीकरण गर्न र सवारी चालकमा सचेतना फैल्याउन परीक्षा लिन थालिएको हो। केसीले लिखित परीक्षा लिन थालिएपछि मापसे गर्ने चालकको संख्या र सवारी दुर्घटनामा पनि कमी हुँदै गएको जानकारी दिए । अन्नपूर्णपोष्ट






