अनलाइन विचार, ६ चैत्र । समस्या पहिचान गर्नै नसकेपछि समाधानका उपाय पनि काम लाग्दैनन् । यसैले नेपालको र विशेषगरी काठमाडौं उपत्यकाको यातायात समस्या समाधान हुनुको साटो झन् झन् जटिल हुँदैगएको हो । कोटेश्वरको जाम कम गर्न भक्तपुरतिरबाट आउने सवारी साधनलाई बालकुमारीतर्फ पठाउने सरकारी योजना पनि यस्तै समस्याको टालटुले समाधानमात्र हो । यो यात्रुको भन्दा सवारी चालक र ट्राफिक व्यवस्थापकको सुविधा हेरेर यो उपाय अपनाउन लागिएको स्पष्टै बुझिन्छ । मनोहरामा पुल बनाएर सवारी साधनलाई अर्को बाटो पठाउँदा कोटेश्वरको जाम खासै कम नहुने तर बालकुमारीमा पनि जाम सुरुहुने अवस्था उत्पन्न हुनसक्छ ।

काठमाडौं उपत्यकामा कार्यालय समयमा सार्वजनिक सवारी साधनमा यात्रा गर्नु निकै कष्टकर हुन्छ । जसरी भए पनि जानै पर्ने बाध्यतामा भएका यात्रु यातायात व्यवसायीलाई सराप्दै सधैँ कोचिएर यात्रा गर्न बाध्य हुन्छन् । राज्यले सार्वजनिक यातायातलाई गरेको उपेक्षा र यातायात व्यवसायीले यात्रुलाई गर्ने शोषण यसका प्रमुख कारण हुन् । सबैभन्दा बढी यात्रु ओहोरदोहोर गर्ने बेलामा नियमित सवारी साधन अन्तै पठाएर यात्रुलाई सास्ती दिने चलन सबैजसो रुटमा देखिन्छ । विशेषगरी बिहान ८ देखि १० बजेको समयमा रुटका बस, मिनी र माइक्रोबस विद्यार्थी ओसार्न विद्यालयलाई भाडामा दिने गरिन्छ । यात्रुको चाप बढी हुने बेला यसरी सवारी साधनको संख्या घटाइँदा पनि सरकारले नियमन गर्ने वा व्यवसायी यात्रुप्रति उत्तरदायी भएर व्यवस्थापन गर्ने गर्दैनन् ।

देशका अरू समस्याजस्तै यातायातमा देखिएका समस्याहरूको पनि मूल कारण भने शासकको सामन्ती मानसिकता नै हो । निजी वा सरकारी सवारी साधनलाई सजिलो भए पैदल र सार्वजनिक यातायातमा हिँड्ने यात्रुलाई जति अप्ठेरो भए पनि शासकहरूको आँखा बिझाउँदैन । काठमाडौंमा केही महिना पहिलेदेखि टुँडीखेल वरपर ट्राफिक जाम कम गराउने निहुँमा बस स्टपहरू फेरबदल गरियो । भृकुटी मण्डपबाहिर सार्वजनिक सवारी रोक्न दिइएन । त्यस्तै जमलमा पनि सवारी रोक्न निषेध गरियो । यसले सिंहदरबार र बहादुर भवन जानआउन सजिलो त भयो होला तर दिनहुँ पचासौं हजार यात्रुले सास्ती भोग्नुपरेको छ । भृकुटीमण्डपतर्फका सबै यात्रु नेपाल वायुसेवा निगममा थपिएपछि त्यहाँ भिड थपिएको छ । नयाँसडकतर्फ जाम बढ्नथालेको छ । सडकमा माटो थुप्रिन नछाडेसम्म जति ब्रुमर लगाए पनि धुलो उँड्न छाड्दैन । राम्ररी हेरचाह गर्ने हो भने काठमाडौंका सडकमा कहिल्यै ब्रुमर लगाउन पर्दैन ।

काठमाडौंको यातायात समस्या सडक साँगुरो, मोटर धेरै भएकाले मात्र भएको हैन । काठमाडौंभन्दा धेरै सवारीको घनत्व भएर पनि यातायातको व्यवस्थापन सहज भएका सहर संसारमा धेरै नै छन् । काठमाडौंमा त यात्रुकेन्द्रित व्यवस्थापनको प्रयासै नभएकाले समस्या झन्झन् दुरुह हुँदैगएको हो । यसैले सबैभन्दा पहिले राजनीतिक र प्रशासनिक शासकहरूको मानसिकतामा परिवर्तन आवश्यक छ । सडकमा पैदल यात्रुको सुविधालाई सबैभन्दा बढी महत्त्व दिनुपर्छ । त्यसपछि ट्राफिक व्यवस्थापन गर्दा सार्वजनिक यातायातका यात्रुको सुविधाले बढी प्राथमिकता पाउनुपर्छ । सवारी चालकले लेनको अनुशासनलगायतका नियम पालना नगरे कडा कारबाही हुनुपर्छ । जनसाधारणको सुविधालाई केन्द्रमा राखी यातायात व्यवस्थापन गरेमा अहिलेको जाम पनि कम हुन्छ । यात्रुको सुविधालाई प्राथमिकता दिनेबित्तिकै रुटका गाडी भाडामा अन्यत्र लगाउने, ठूला मालबाहक सवारी साधन व्यस्त समयमा साना गल्लीमा हिँडाउने, यात्रुलाई ५ सय मिटरभन्दा बढी दूरी पैदल हिँडाउने जस्ता समस्या देखिने छैनन् । यस्तै राज्यले दायित्व बोध गरेर सार्वजनिक यातायातमा लगानी बढाएमा पनि यातायातसम्बन्धी समस्या कम हुनेछ ।

तपाईको प्रतिक्रिया

Comments