Online Bichar
शनिबार, आश्विन १७, २०८३ | Saturday, October 3, 2026

सल्यान, १६ असोज २०८३ । सल्यानमा स्क्रब टाइफसबाट डेढ महिनाको अवधिमा ९ जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिकामा आठ र छत्रेश्वरी गाउँपालिकामा एक गरी ९ जनाको मृत्यु भएको हो । पछिल्लो पटक छत्रेश्वरी गाउँपालिकाकी ५१ वर्षीया महिलाको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य अधिकृत गणेशमान डाँगीले बताए ।

मृत्यु हुनेमा छ पुरुष, दुई महिला र एक बालक छन् । उनीहरूको उपचारका क्रममा दाङ र नेपालगन्जका विभिन्न अस्पतालमा मृत्यु भएको थियो । गत साउन महिनामा सुरुमा दार्मा गाउँपालिकामा देखिएको स्क्रब टाइफस रोग अहिले जिल्लाभरि नै फैलिएको छ । संक्रमितको संख्या ६ सयनजिक पुगेको छ ।

रोगबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि अहिले रोग नियन्त्रण महाशाखा, टेकुबाट अनुसन्धान टोली सल्यान आएको छ । टोली अहिले दार्मा गाउँपालिकामा पुगेर अनुसन्धानमा जुटेको छ । ठाउँठाउँमा शिविर सञ्चालन गरेर बिरामीको पहिचान तथा उपचार गर्दै आए पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य सेवा कार्यालय सल्यानले पालिकासँग सहकार्य गरेर सचेतनामूलक र सरसफाइसम्बन्धी कार्यक्रमलाई तीव्र पारेको छ ।

स्क्रब टाइफस, जसलाई बुस टाइफस पनि भनिन्छ, ब्याक्टेरियाका कारण हुने घातक संक्रामक रोग हो । यो ब्याक्टेरिया सूक्ष्म किर्नाले मानिसमा सार्छ । संक्रमित मुसामा पाइने लार्भा अवस्थाका माइट (चिगर) ले टोकेपछि मानिसमा यो रोग सर्ने गर्छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानकी निमित्त प्रमुख डा. प्रतिभा विकले स्क्रब टाइफसबाट बच्न खेतबारी, घाँस वा झाडीमा काम गर्नेहरूले पूरा बाहुला भएको लुगा र पाइन्ट लगाउनुपर्ने बताइन् । छाला देखिने ठाउँमा किरारलार्भा भगाउने वा मार्ने स्प्रे प्रयोग गर्न पनि उनको सुझाव छ ।

जिल्लाभरि रोग फैलिएपछि खोजपडताल र उपचार तीव्र पारिएको उनले जानकारी गराइन् । रोग नियन्त्रण महाशाखा, टेकु, काठमाडौंबाट आएको टोलीले अहिले दार्माका विभिन्न स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ । सामान्य बिरामीको जिल्लामै उपचार भइरहेको छ भने जटिल समस्या देखिएकालाई रिफर गरिएको छ ।

जनस्वास्थ्य अधिकृत तारा रिजालले बिहीबारसम्म ४ हजारभन्दा बढीको किटद्वारा परीक्षण गर्दा दार्मा गाउँपालिकामा संक्रमितको संख्या १२९, कुमाख गाउँपालिकामा ७६, छत्रेश्वरी गाउँपालिकामा २८, बागचौर नगरपालिकामा १८०, कपुरकोटमा ५४, बन्गाड कुपिण्डे नगरपालिकामा ८, कालीमाटीमा २ र जिल्ला अस्पताल सल्यानमा ४८ पुगेको बताए । अहिलेसम्म जिल्लाका ८ पालिकामा उक्त रोगको संक्रमण फैलिएको र सबैभन्दा बढी दार्मामा रहेको छ ।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले शिविर सञ्चालन गरेर उपचार गर्नुका साथै सचेतना फैलाउँदै आए पनि स्क्रब टाइफस रोग पूर्ण रूपमा नियन्त्रणमा नआएको बताए ।

उच्च ज्वरो आएका, टाउको दुखेका, औषधि सेवन गर्दा पनि ठीक नभएकालाई किटद्वारा परीक्षण गर्दा धेरैमा स्क्रब टाइफस रोग देखिएको कुमाख गाउँपालिका, सल्यानका स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले बताए । संक्रमितको संख्या बढिरहेको उनले जानकारी गराए । संक्रमित भएकाहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको उनको भनाइ छ ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया