काठमाडौं, ७ असार २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटन समारोहमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन थापादेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म चितवन पुगेका छन् ।
आइतबार (असार ७) चितवनको भरतपुरमा सुरु महाधिवेशनमा कांग्रेसका तर्फबाट सभापति थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा ९एमाले०का उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन पुगेका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअर्थमन्त्री समेत रहेका कम्युनिस्ट नेता बाबुराम भट्टराई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमतका अध्यक्ष राउत पनि उद्घाटन समारोहमा सहभागी छन् ।
रास्वपाले सबै दलका शीर्ष नेतालाई महाधिवेशन समारोहमा निमन्त्रण गरेको थियो । महाधिवेशन यही असार ९ गतेसम्म चल्ने तय छ ।






