काठमाडौं, २९ जेठ २०८३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्लाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले अर्थमन्त्रीले बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा धम्की दिएको भन्दै आपत्ति जनाएका हुन् । “संसद्को अवमूल्यन भएको छ । समितिको अबमूल्यन भएको छ । धाकधम्की प्रयोग गर्ने, धम्क्याउने कोसिस भएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ,” उनले भने ।
कार्यपालिकाका सदस्य, संसद् र समितिप्रति जवाफदेही हुनुपर्ने उनले बताए । अर्थमन्त्रीले संसद्को मानहानी गरेको उनको बुझाइ छ ।
“अर्थमन्त्रीले सातवटा करका दर हेरफेर गरेँ भनेर खुलमखुला स्वीकार गर्नुभयो । यो आर्थिक अपराध हो । हामीले अपराध गर्नुभयो भनेका थिएनौँ । उहाँले धम्की दिँदै गरेकै हो, के गर्छौं भन्नुभएको छ । संसद्को मानहानी भएको छ,” उनले भने ।
उनले छानबिनका लागि रुलिङको माग गरे । “पुरानाले गरे । पोहोर साल ७३ वटा हेरफेर गरे । अहिले मैले ७ वटा गरेँ भन्नुभयो,” पुनले भने, “७३ होस् या एउटा होस् अपराध हो । दुई वर्ष पहिले मैले पनि बजेट ल्याएको थिएँ । पुरानो छानबिन होस्,” उनले भने, “मेरो पालाको पनि छानबिन होस् । गतवर्ष पनि होस् । यसपटकको पनि छानबिन होस् । त्यसका लागि पनि तयार छु ।”
उनले पुरानो र नयाँ भनेर विषयान्तर गर्न नपाइने बताए । पुनले संसदीय छानबिन समिति गठनको माग गरे । अर्थमन्त्रीले संसद्मा आफूमाथि प्रश्न उठाउनेहरूको पुरानो फाइल खोल्ने चुनौती दिएका थिए । “फाइल खुलोस् । मेरोबाटै छानबिन होस् भन्दै छु,” पुनले भने ।






