Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

सिरहा, १६ पुस २०८२ । सिरहामा केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण एक जना वृद्धको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका–८ का ६० वर्षीय शिवदयाल सदायको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।

लामो समयदेखि मधुमेह र दम रोगबाट पीडित सदायको बुधबार बिहान आफ्नै घरमा मृत्यु भएको उनकी श्रीमती फेकनी देवी सदायले जानकारी दिइन् ।

विपन्न परिवारका सदायको घरमा न्यानो कपडा र जाडो छल्ने राम्रो व्यवस्था नहुँदा चिसो सहन नसकेर ज्यान गएको वडा सदस्य तनुकलाल महतोले बताए ।

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका सदायको मृत्युपछि अन्तिम संस्कारका लागि शव जलाउन दाउरा समेत नभएपछि नेपाली सेनाले दाउरा सहयोग गरेको छ ।

केही दिनदेखि तराईमा बढेको बाक्लो कुहिरो र चिसो हावाका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेसँगै विपन्न र दलित बस्तीहरूमा न्यानो कपडा र आगो ताप्ने दाउराको अभाव देखिएको छ ।

 

तपाईको प्रतिक्रिया