Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठमाडौं, ८ पुस २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवार छनोट प्रक्रियालाई तीव्र पारेको छ ।

रास्वपाले समानुपातिक उमेदवारका निम्ति आवेदन दिएका सातै प्रदेशका आकांक्षीसँग छलफल सम्पन्न गरेको छ । रास्वपाले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत आन्तरिक उमेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक ३५३ उमेदवारसँग छलफल गरेको हो ।

समानुपातिक उमेदवारको बन्दसूची यही पुस १४ गते निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । रास्वपाले समानुपातिक उमेदवारको सूची टुंग्याउने तयारी तीव्र पारेको हो ।

उमेदवार छनोट समितिका संयोजक विपीनकुमार आचार्यले भने, “हामीले सबै प्रदेशमा गएर छलफल सकेका छौँ । छलफलमा सहभागी नभएका उमेदवारसँग पनि आजै छलफल गर्दै छौँ । यसपछि हामीले सूची टुंगो लगाउने तयारी गरेका छौँ ।”

रास्वपाको समानुपातिक सूचीमा विवेकशील साझा पार्टीबाट भित्रिएका तीनजना अटाएका छन् । समीक्षा बास्कोटा, रञ्जु दर्शना र प्रकाशचन्द्र परियार दर्जी समानुपाितक सूचीको प्रारम्भिक उमेदवारका रूपमा छानिएका हुन् ।

रास्वपाका पदाधिकारीसहित नौ केन्द्रीय कार्यसमिति सदस्य समानुपातिकको प्रारम्भिक सूचीमा छन् । समानुपातिक उमेदवारको प्रारम्भिक सूचीमा परेका रास्वपाका सहप्रवक्ता रमेश प्रसाईंले भने, “हामी सूचीमा परेकालाई देशभरका हाम्रा पार्टी सदस्यहरूले भोटिङ गरेर चुन्नुहुनेछ । मलाई विश्वास छ, हाम्रा साथीहरूले मैले पार्टीमा रहेर गरेको कामको मूल्यांकन गर्नुहुनेछ ।”

उनका अनुसार, रास्वपाका झन्डै डेढ लाख सदस्यले समानुपातिक उमेदवारको प्रारम्भिक सूचीमा परेका ३५३ जनालाई मतदान गर्नेछन् ।

रास्वपाले समानुपातिक उमेदवारमा १० प्रतिशत ‘कोटा’ प्रवासी नेपालीका निम्ति छुट्ट्याएको छ । उक्त कोटाअन्तर्गत विभिन्न मुलुकमा रहेका प्रवासीले उमेदवारी दिएका सहप्रवक्ता प्रसाईंले बताए ।

समानुपातिक उमेदवारमा १० प्रतिशत कोटा प्रवासी नेपालीका निम्ति छुट्ट्याएको नेपालमै यो पहिलो अभ्यास हो ।

बाह्रखरीलाई प्राप्त सूचीअनुसार, कतारबाट अब्दुल करिम, भारतबाट सुभास पन्थी, अर्जुनप्रसाद भण्डारी र विनोद विष्ट, कुवेतबाट राजु कार्की, साउदी अरेबियाबाट भुपाल भण्डारी, जर्मनीबाट किशोर गन्धर्व, डेनमार्कबाट अनिश अधिकारी, नर्वेबाट होमनाथ अधिकारी, यूएईबाट प्रेमराज ढकाल, बेलायतबाट रमेश बेलबासे र अमेरिकाबाट दीपक सुनुवारले आवेदन दिएका छन् ।

साउदीबाट आवेदन दिएका भण्डारी मासिक १० लाख रुपैयाँ आम्दानी गर्छन् । उनले भने, “हाम्रो लाइफस्टाइल र कमाइको अगाडि समानुपातिक सांसदको पद केही होइन, तर देशलाई केही राम्रो बनाउने हुटहुटीले मैले उमेदवारी दिएको हुँ । देश बनाउने हाम्रो सपना छ ।”

भण्डारी विगत १६ वर्षदेखि साउदीका विभिन्न कम्पनीमा आबद्ध रहँदै कार्यरत छन् ।

पार्टीले आह्वान गरेको समानुपातिक प्रणालीतर्फको उमेदवार छनोटका निम्ति पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन गरिने रास्वपाले जनाएको छ ।

रास्वपाले समानुपातिकतर्फ आन्तरिक उमेदवार छनोट प्रक्रियालाई अघि बढाउन केन्द्रीय उमेदवार छनोट समितिअन्तर्गत विभिन्न आठ उपसमिति गठन गरी काम थालिसकेको छ ।

 

तपाईको प्रतिक्रिया